तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव हुने



दाङको तुलसीपुरमा दोस्रो नेवारी सडक खाना महोत्सव आगामी मंसिर २३ देखि २९ गतेसम्म आयोजना हुने भएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक समितिले महोत्सवका उद्देश्य, मिति, स्थान र प्रमुख आकर्षणबारे जानकारी गराएको हो।

तुलसीपुर ५ (ग) लाइन, उपमहानगरपालिका गेट नजिक हुने महोत्सवलाई “यःमरी पून्ही या सकसीत लसताय भिन्तुना ” नारासहित सञ्चालन गरिनेछ। महोत्सवमा विभिन्न नेवारी पारम्परिक परिकारहरूको प्रदर्शनी तथा बिक्री रहने जनाइएको छ।

तुलसीपुर उपमहानगरपालिकाकाे मुख्य आयाेजना तथा  ‘नेवा: देय दवु (नेवा: राष्ट्रिय मञ्च)’ र ‘नेवा: मिसा दवु’ को सहआयोजनामा महोत्सव सञ्चालन हुन लागेको हो।

पत्रकार सम्मेलनमा संघका केन्द्रीय उपाध्यक्ष नरेशराज भण्डारीले नेवारी समुदायको सबैभन्दा महत्वपूर्ण परिकार यमरी भएको उल्लेख गर्दै यमरी पूर्णिमाको अवसर पारेर महोत्सव आयोजना गरिएको जानकारी दिनुभयाे। नयाँ अन्न प्राप्ति र चिसो मौसमलाई मध्यनजर गर्दै यमरी खाने सांस्कृतिक परम्परालाई संरक्षण तथा प्रचारप्रसार गर्ने उद्देश्य रहेको उहाले स्पष्ट पार्नुभयाे ।

आयोजक समितिका उपाध्यक्ष अशोक श्रेष्ठका अनुसार महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धन, नेवारी सांस्कृतिक परिचय अभिवृद्धि र स्थानीय उत्पादनको बजारिकरणमा योगदान गर्ने अपेक्षा गरिएको छ।

गत वर्ष तीन दिनसम्म सञ्चालन गरिएको महोत्सवमा ३ लाख ४९ हजार रुपैयाँको कारोबार भएको थियो भने यस बर्ष कार्यक्रमलाई एक सातासम्म विस्तार गरिएकाले करिब ८ लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य आयोजकले राखेको छ। महोत्सव हरेक दिन दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने जनाएको छ।

उपाध्यक्ष अशोक श्रेष्ठको अध्यक्षतामा  सम्पन्न  कार्यक्रममा स्वागत मन्तव्य तथा प्रकाशन विवरण निवर्तमान अध्यक्ष पुष्कर श्रेष्ठले प्रस्तुत गर्नु भएको थियाे । कार्यक्रमकाे सहजीकरण तुफानबाबु श्रेष्ठले गर्नु भएको थियाे ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शनिवार
प्रतिक्रिया दिनुहोस्