एमाले नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु



नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि मतदान सुरु हुने भएको छ। मङ्गलवार नै मतदान गर्ने कार्यतालिका भए पनि प्राविधिक समस्याका कारण एक दिन ढिलो गरी मतदान हुन लागेको हो।

मतदाता नामावलीमा युनिकोड र प्रिति फन्ट मिश्रित रूपमा प्रयोग हुँदा समस्या देखिएपछि मतदान स्थगित गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार नामावलीलाई पूर्ण रूपमा युनिकोडमा रूपान्तरण गरी रुजु गर्न समय लागेकाले निर्वाचन आयोगको निर्देशनअनुसार मतदान बुधबारका लागि सारिएको हो।

यसअघि मङ्गलवार साँझ मतदाताहरू मतदानको प्रतीक्षामा लाइनमा बसे पनि राति मतदान स्थगित हुने जानकारी दिँदै फर्काइएको थियो।

११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुन लागेको एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा रहेका छन्।

प्रकाशित मिति : २०८२ पुष २ गते बुधवार
प्रतिक्रिया दिनुहोस्