
लुम्बिनी प्रदेशमा दृष्टिबिहिनताको समस्या गम्भीर बन्दै गएको छ । नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशभर ११ हजार २ सय ७३ जना नागरिक दृष्टिबिहिनताको अवस्थाबाट प्रभावित छन् ।
दाङकाे घाेराहिमा साेमबार पत्रकार भेटघाट कार्यक्रममा दिइएकाे जानकारी अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा बढी २ हजार ४६२ जना दृष्टिबिहिन रहेका छन् भने रुकुम पूर्वमा सबैभन्दा कम १२८ जना रहेका छन् ।
दाङमा १ हजार ४ सय ८८, कपिलवस्तुमा १ हजार ५ सय ११, बाँकेमा १ हजार ३ सय २७ जना छन् । यस्तै बर्दियामा १ हजार १४, नवलपरासी पश्चिममा ८ सय ४८, रोल्पा र प्युठानमा ५ सय २० –५ सय २० छन् ।
यस्तै पाल्पामा ५ सय ३३, गुल्मीमा ५ सय ४३ तथा अर्घाखाँचीमा ३ सय ९० जनामा दृष्टिबिहिनताको अवस्था रहेको छ ।
यसैगरी, लुम्बिनी प्रदेशमा २३ हजार ५ सय ७१ जनामा मोतियाविन्दुको समस्या देखिएको वरिष्ठ प्रशासकिय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनुभयाे ।
आर्थिक अभाव, अस्पतालसम्म पुग्न कठिनाइ तथा आँखाको उपचार आवश्यक छ भन्ने चेतनाको कमीका कारण धेरै बिरामी उपचारबाट वञ्चित रहेको नेपाल नेत्रज्योति संघले जनाएको छ ।
संघका अनुसार ४२ प्रतिशत बिरामीले उपचार आवश्यक नठानेर, ३६ प्रतिशतले आर्थिक अभावका कारण, २० प्रतिशतले स्वास्थ्य संस्थाको पहुँच नपुगेर तथा ३ प्रतिशतले अन्य कारणले उपचार नगरेका छन् ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. शम्सेर थापाले समयमै उपचार सेवा लिन सके दृष्टिबिहिनता न्यूनीकरण गर्न सकिने बताउनुभयो । उहाँका अनुसार नेपाल नेत्रज्योति संघले लुम्बिनी प्रदेशभर आँखा उपचार सेवा विस्तारसँगै विशेषज्ञ जनशक्ति उत्पादनमा समेत काम गरिरहेको छ ।
संघले सञ्चालन गरेका अस्पतालहरूबाट सामान्य आँखा परीक्षणदेखि मोतियाविन्दुको ‘फेको’ शल्यक्रिया, जलविन्दु तथा रेटिना उपचार सेवा प्रदान हुँदै आएको छ ।
गरिब तथा विपन्न नागरिकलाई लक्षित गरी निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिँदै आएको संघले जनाएको छ ।
नेपाल नेत्रजयाेति दाङका अध्यक्ष कृष्ण कुमार गिरिकाे अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुवेदीले स्वास्थ्यकाे क्षेत्रमा स्वास्थ्य सेवा कसरी दिइरहेकाे छ अनुगमन गर्ने परिपाटी नभएको भन्दै स्थानीय पालिका नागरिक प्रती उत्तरदायी हुन छाेडेकाे बताउनुभयो ।
कार्यक्रमकाे शहजिकरण सुचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियाे ।

