
तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सवमा आज चर्चित गायक तथा नायक प्रकाश सपुतको प्रस्तुति रहने भएको छ । सपुतको उपस्थितिका कारण आज दर्शकको भीड उल्लेख्य हुने अनुमान गरिएको छ ।
आजको कार्यक्रममा सपुतसँगै गायक सागर वली, गायिका कालिका राना र डान्सर सावित्रा वलीलगायत कलाकारले प्रस्तुति दिने आयोजकले जनाएको छ ।
पुस ४ गतेदेखि सुरु भएको महोत्सवमा दैनिक दर्शक संख्या बढ्दै गएको छ । दर्शकको सहभागिता बढेसँगै कारोबारमा समेत वृद्धि भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
‘स्थानीय उत्पादनको प्रवर्द्धन, औद्योगिक वातावरण सुधार र दिगो अर्थतन्त्रको आधार’ भन्ने नारासहित सञ्चालन भइरहेको महोत्सव पुस १९ गतेसम्म चल्नेछ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा महोत्सव तुलसीपुर–घोराही रोडस्थित ओम शान्ति सिनेमा हलको पूर्वतर्फको मैदानमा सञ्चालन भइरहेको छ ।
महोत्सवमा बाल उद्यान, जलपरी, लण्डन ब्रिजलगायत संरचना दर्शकका प्रमुख आकर्षण बनेका छन् ।

