तुलसीपुरमा महिलाका लागि फोटो पत्रकारिता तालिम सुरु



महिलाहरूको क्षमता अभिवृद्धि तथा पत्रकारितामा सहभागिता बढाउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले महिलाहरुका लागि फोटो पत्रकारिता तालिम सञ्चालन गरेको छ।
तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा तथा संचारिका समूह दाङ र रोज डिजिटल मिडिया प्रा.लि. तुलसीपुरको समन्वयमा आइतवारदेखि तालिम संचालन गरिएको हाे ।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै  नगर प्रमुख टिकाराम खड्काले तालिमले महिलालाई फोटो पत्रकारितामार्फत सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयाे ।
 उपप्रमुख स्यानी चौधरीले पत्रकारिताले समाज परिवर्तन मात्र नभई व्यक्तिको जीवन परिवर्तन गर्ने भूमिका खेल्नुपर्ने बताउनुभयाे। उहाले महिलाले छोरी, आमा र गृहिणीको दोहोरो भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै पुरुषभन्दा महिला कुनै काममा कमजोर नभएको स्पष्ट पार्नुभयाे ।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत केशवराज पाध्रेले पछिल्लो समय पत्रकारितामा फोटोको महत्व अत्यन्त बढेको उल्लेख गर्दै तालिम केवल लिनेमा सीमित नभई सीप उपलब्धिमूलक बनाउन आग्रह गर्नुभयाे । उहाले नयाँ पत्रकारिताको तालिम लिन आएका सहभागीलाई रोल मोडलका रूपमा अघि बढ्न र सिकेका सीप व्यवहारमा उतार्न सुझाव दिनुभयाे ।
यस्तै  नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नारायणी रजौरेले महिलाको दृष्टिकोणसहितको फोटो पत्रकारिता समाजका यथार्थ उजागर गर्न प्रभावकारी हुने बताउनुभयाे ।
कार्यक्रमकाे शहजिकरण महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नु भएको थियाे ।
चार दिने तालिममा फोटो पत्रकारिताका आधारभूत सीप, समाचारका लागि फोटो चयन, एङ्गल, कथा भन्न सक्ने फोटो खिच्ने तरिका लगायतका विषयमा प्रशिक्षण दिइने आयोजकले जनाएको छ।
तालिम आज १८ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति : २०८२ माघ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्