
रेडियो नेपाल को आयोजनामा सार्वजनिक सेवा प्रसारण अन्तर्गत “समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण” सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सुर भएको छ।
कार्यक्रममा सार्वजनिक सेवा प्रसारणलाई लक्षित समुदायसम्म प्रभावकारी रूपमा पुर्याउने, अन्तर्राष्ट्रिय अभ्यास र राष्ट्रिय अवधारणाअनुसार सामग्री उत्पादन गर्ने तथा प्रशिक्षित जनशक्तिमार्फत सञ्चार क्षेत्रलाई रूपान्तरण गर्ने मुख्य उद्देश्य राखिएको थियो।
कार्यक्रममा रेडियो नेपालका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले सार्वजनिक सेवा प्रसारणको मूल भावना नागरिकमै केन्द्रित हुनुपर्ने बताउनुभयो। उहाँले रेडियो नेपाललाई सरकारी हस्तक्षेप र व्यापारिक दबाबबाट मुक्त राख्दै जनताको सरोकार, आवाज र आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँका अनुसार रेडियो नेपालले टेलिभिजन, रेडियो र डिजिटल प्लेटफर्ममार्फत तीनवटै माध्यमलाई एकीकृत गर्दै काम गरिरहेको छ। साथै, पोडकास्टिङमार्फत नयाँ पुस्तासम्म पुग्ने प्रयास भइरहेको उल्लेख गर्दै उहाँले यसलाई राष्ट्रिय एकताको आधारका रूपमा व्याख्या गर्नुभयो। “सम्पूर्ण विविधता, बहुएकता र अपनत्वको महसुस गराउनु नै सार्वजनिक सेवा प्रसारणको सार हो,” उहाँले जोड दिनुभयो।
रेडियो नेपालबाट १२६ भाषाभाषी समुदायमा सूचना तथा समाचार प्रवाह भइरहेको उल्लेख गर्दै अध्यक्ष विष्टले जातीय, लैङ्गिक तथा विभिन्न वर्ग–समुदायबीचको एकता नै राष्ट्रिय एकताको मूल भावना भएको स्पष्ट पार्नुभयो। उहाँले अब रेडियो नेपाललाई समृद्धिको मार्गमा अग्रसर गराउनुपर्ने आवश्यकता औंल्याउँदै सुशासन, लोकतन्त्र प्रवर्द्धन र नागरिक अधिकारको संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। “स्वायत्तता, स्वतन्त्रता, विविधता र नयाँ प्रविधिको विकासबिना सार्वजनिक सेवा प्रसारण सशक्त बन्न सक्दैन,” उहाँले भन्नुभयो।
कार्यक्रममा नेपाल टेलिभिजन कोहलपुर का प्रमुख निराजन खनालले समावेशिता केवल सामग्रीमा मात्र सीमित नभई सामग्री निर्माण गर्ने सर्जक (क्रियटर) तहमा समेत हुनुपर्ने धारणा राख्नुभयो।
त्यस्तै, रेडियो नेपाल सुर्खेत का प्रमुख विजय वर्माले स्थानीय सन्दर्भ, स्थानीय भाषा र समुदायको प्रतिनिधित्वलाई सामग्रीमा समेट्न सके सार्वजनिक सेवा प्रसारण अझ प्रभावकारी बन्ने उल्लेख गर्नुभयो।
उद्घाटन कार्यक्रमको सहजीकरण रेडियो नेपालका उपनिर्देशक जनार्दन विष्टले गर्नुभएको थियो।
कार्यक्रमको पहिलो दिन कार्यकारी अध्यक्ष महेन्द्र विष्टले लोकतन्त्रका आधारभूत तत्व, लोकतन्त्रका लागि राजनीतिक संस्कृति, नागरिकको लोकतान्त्रिक अधिकार तथा निर्वाचनका क्रममा सार्वजनिक सेवा प्रसारणको दायित्वका विषयमा विस्तृत जानकारी गराउनुभएको थियो।
त्यसैगरी, उपनिर्देशक जनार्दन विष्टले समावेशी पत्रकारिताको अवधारणा, व्यवहारिक चुनौती तथा समाधानका उपायहरूबारे प्रशिक्षण दिनुभएको थियो। उहाँले समाचार चयन, स्रोतको विविधता, भाषा प्रयोग र प्रस्तुतीकरणमा समावेशितालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेशिक प्रशारण दाङ, कर्णाली प्राादेशिक प्रसारण केन्द्र सुर्खेत, सुदुरपश्चिम प्राादेशिक प्रशारण केन्द्र दिपायल र एन टिभि काेहलपुरका कर्मचारीकाे सहभागीता रहेकाे छ ।

