
‘घोराही बनाऔं अभियान’ले सामाजिक उत्तरदायित्वमा सक्रिय योगदान दिँदै आएका अटो चालक रेशु घिमिरेलाई सम्मान गरेको छ।
घोराही उपमहानगरपालिका वडा नं. ३ र ४ मा बसोबास गर्ने अति विपन्न, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दृष्टिविहीन, क्यान्सर तथा मृगौला रोगीहरूलाई बिहान ७ बजेदेखि ९ बजेसम्म लक्ष्मीपुर स्वास्थ्य चौकी र घोराहीका अस्पतालहरूमा निशुल्क ओसारपसार सेवा दिँदै आएका घिमिरेलाई प्रशंसा–पत्र प्रदान गरेर सम्मान गरिएको हो।
अभियानका संयोजक सविन प्रियासनका अनुसार ,- “हामीलाई रेशु घिमिरेजस्तो नागरिकले प्रेरणा दिन्छन्। आफ्नो व्यक्तिगत कामसँगै सामाजिक जिम्मेवारी निर्वाह गर्नु उनीजस्ता व्यक्तिहरूबाट सिक्नुपर्ने विषय हो। ‘घोराही बनाऔं अभियान’ले यस्ता सकारात्मक कार्यलाई सम्मान गर्दै आएको छ।”
सम्मानित रेशु घिमिरेले भावुक हुँदै भने, “सवारी मेरो पेसा हो, तर सेवामा पनि आत्मसन्तुष्टि छ। पीडामा परेकालाई अस्पताल पुर्याएर सानो सहयोग गर्न पाउँदा खुशी लाग्छ। म कुनै लोभ या प्रचारको लागि होइन, मानवीयताको भावना लिएर यो काम गर्दै आएको हुँ।”
प्रशंसा–पत्र संयोजक सविन प्रियासन, उपसंयोजक बिनोद केसी र महासचिव पाण्डवप्रसाद शर्माको हस्ताक्षरसहित प्रदान गरिएको हो।
कार्यक्रममा सेवा लाभग्राहीका परिवार, स्थानीयबासी र अटो चालक संघका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

