पातुखोला पुलमा समाजसेवीहरूको सरसफाइ तथा रङरोगन अभियान सम्पन्न



तुलसीपुरका समाजसेवीहरूले पातुखोला पुलमा सरसफाइ तथा रङरोगन गरेका छन्। समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा र मेघराज केसीको सहकार्यमा उक्त अभियान सञ्चालन गरिएको हो।

पुलमा भएको सरसफाइ तथा रङरोगन अभियानमा समाजसेवी शन्दिप गौतम, निम बुढाथोकी, निमबहादुर डाँगी, राजु विश्वकर्मा, भूपबहादुर डाँगी, सुरेन्द्र रोकाया लगायत विभिन्न स्वतन्त्र अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा स्वतःस्फूर्त रुपमा सहभागी भएका युवाहरूको मुख्य उद्देश्य सरकारलाई सहयोग र दबाब दुवै दिने, सेवाभावको ऊर्जा संकलन गर्दै सामाजिक परिवर्तनको सन्देश दिनु तथा आपसी भाइचारा प्रवर्धन गर्नु रहेको अभियन्ताहरूले बताएका छन्।

पुल रङरोगनका लागि आवश्यक सामग्री सहयोग समाजसेवी तथा व्यवसायीहरूले गरेका थिए। अभियानमा पौडेल हार्डवयर एन्ड सप्लायर्सका दयाराम पौडेल, पौडेल हार्डवयरका पिताम्बर पौडेल, सुनिल ट्रेडर्सका कल्याण भण्डारी, देश हार्डवयरका देबराज कडेल र बुलबुले हार्डवयरका दुर्गा प्रसाद चौधरीले रङ तथा अन्य सामग्री उपलब्ध गराएका थिए।

अभियानमार्फत स्थानीय तहमा नागरिकको स्वस्फूर्त सहभागिताले पनि सकारात्मक परिवर्तन सम्भव छ भन्ने सन्देश दिएको सहभागीहरू बताउँछन्।

 

प्रकाशित मिति : २०८२ साउन ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्