
तुलसीपुर उपमहानगरपालिकाका पुर्व मेयर घनश्याम पाण्डेले आइतबार तुलसीपुर–९ स्थित माध्यमिक विद्यालय दोघरेको भौतिक तथा शैक्षिक अवस्था बारे जानकारी लिनुभएको छ। उहाँले विद्यालय पुगेर कक्षा कोठा, खेल मैदान, शौचालय, विधार्थिहरुकाे सिकाइ स्तरलगायत विभिन्न पक्षका बारेमा जानकारी लिनुभयाे।
सो क्रममा विद्यालयका प्रअ, शिक्षक–शिक्षिकासँग छलफल गर्दै पाण्डेले विद्यालयलाई शैक्षिक गुणस्तरमा सबल बनाउन नगर स्तरबाट पनि पहल आवश्यक पर्ने बताउनुभयो।

प्रधानाध्यापक सुनिता यादवले विद्यालयमा भौतिक पूर्वाधारको अभावका कारण पठन–पाठनमा कठिनाइ भएको जानकारी दिनुभयाे । “शैक्षिक गुणस्तर सुधार र विद्यार्थी आकर्षित गर्ने वातावरण बनाउन हामी निरन्तर प्रयासरत छौँ,” उहाँले भन्नुभयो।
सो अवसरमा पूर्व मेयर पाण्डेले विद्यालयका आवश्यकता पहिचान गरी सम्बन्धित निकायसँग समन्वय गरेर सहयोग जुटाउने कुरामा लाग्ने बताउनुभयो। उहाँले आधारभूत शिक्षादेखि नै विद्यार्थीलाई गुणस्तरीय सिकाइ दिन सकिने वातावरण बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।
विद्यालयका शिक्षकहरुले हाल विद्यालयमा कक्षाकोठा अपर्याप्त हुनुका साथै आवश्यक शिक्षण–सामग्री र प्रयोगशाला नहुँदा पढाइ–लेखाइमा असहजता भएको गुनासो पोखेका थिए। साथै, विद्यालयको प्रगति र विद्यार्थीको भविष्यका लागि स्थानिय सरकारले विशेष ध्यान दिनुपर्ने माग राखेका थिए।

