
सरकारले सूचीकृत हुन नआएका सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा आज बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमा समेत नआउने सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्रप्रसाद पौड्यालका अनुसार सो निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार भइसकेको छ । सरकारले पछिल्लो पटक दिएको सात दिनको म्याद गएराति सकिएको थियो । तर, यस अवधिमा कुनै पनि सामाजिक सञ्जाल कम्पनी मन्त्रालयसँग सम्पर्कमा आएका छैनन् ।
हालसम्म नेपालमा टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् । बाँकी सूचीकृत नभएका सामाजिक सञ्जाललाई बन्द गर्ने तयारी मन्त्रालयले गरेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार

