थारु राजा दंगिशरण दरवार संरक्षण तथा विकास समितिको बैठक आज (शनिबार) तुलसीपुरमा सम्पन्न भएको छ । समितिका अध्यक्ष जनकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले पदाधिकारी चयनदेखि विधान लेखनसम्मका विषयमा छलफल गरी निर्णयहरू गरेको छ ।
बैठकले समितिलाई पूर्णता दिँदै उपाध्यक्षमा रामशरण चौधरी, महासचिवमा श्रीराम चौधरी, सचिवमा लोकजंग चौधरी र कोषाध्यक्षमा केवलापति चौधरीलाई सर्वसम्मत निर्णयमार्फत चयन गरेको छ । यस्तै, समितिको सदस्यमा ११ सदस्यीय समिति रहने गरी आउँदो बैठकमा थप गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी, विधान लेखनका लागि अध्यक्ष जनकलाल चौधरीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ । जसमा श्रीराम चौधरी, लोकजंग चौधरी, सत्यनारायण चौधरी र रामशरण चौधरीलाई सदस्यका रूपमा चयन गरिएको छ ।
बैठकमा समितिका संरक्षक वडा नं. ११ का वडा अध्यक्ष मानबहादुर रावतले समितिले दर्ता प्रक्रिया पूरा गरी बैधानिक रुपमा संस्थागत ढंगले अघि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले थारु समुदायको इतिहास र संस्कृति जोगाउनका लागि दंगिशरण दरवारको संरक्षण महत्वपूर्ण भएको उल्लेख गर्नुभयो ।
त्यस्तै, सल्लाहकार वडा नं. १२ का वडा अध्यक्ष खुसीराम चौधरीले समितिले स्थानीय स्तरमा सरोकारवाला निकायसँग सहकार्य गर्दै संरक्षण र प्रचारप्रसारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले समितिले ऐतिहासिक दरवारलाई संरक्षण र विकाससँगै पर्यटन प्रवर्द्धनसँग जोड्नुपर्ने सुझाव दिनुभयो । उहाँले यस कार्यमा उद्योग वाणिज्य संघले सक्दो सहकार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
बैठकले आगामी दिनमा दरवार क्षेत्रको संरक्षण, प्रचारप्रसार र पर्यटनमार्फत थारु संस्कृतिको पहिचान उजागर गर्ने कार्यलाई प्राथमिकता दिने जनाएको छ ।


