तुलसीपुर–घोराहीमा जेनजी प्रदर्शन, सरकारी कार्यालय र दलका भवनमा आगजनी



जेनजी आन्दोलन दोस्रो दिन उग्र बनेसँगै सोमबार दाङको तुलसीपुर र घोराहीमा सरकारी कार्यालय तथा राजनीतिक दलका भवनमा आगजनी र तोडफोड गरिएको छ।

तुलसीपुरमा उपमहानगरपालिका, मालपोत, उच्च अदालत, आन्तरिक राजश्व, इलाका प्रशासन, नगर विकास समिति र कारागारसहितका सरकारी कार्यालयमा आगजनी गरिएको छ। एमाले, काँग्रेस र माओवादीका पार्टी कार्यालय पनि ध्वस्त पारिएका छन्। कारागारका बन्दीसमेत भगाइएको छ।

प्रदर्शनकारीले एमाले महासचिव शंकर पोखरेल, नेता कोमल वली, पूर्वमुख्यमन्त्री डिल्ली बहादुर चौधरी, काँग्रेस नेता गेहेन्द्र गिरी, पूर्वमन्त्रीहरू हिराचन्द्र केसी र दिपक गिरीको घरमा समेत आगजनी तथा तोडफोड गरेका छन्।

सुरुवातमा शान्तिपूर्ण देखिएको प्रदर्शन दिउँसोदेखि हजारौँको सहभागितासहित हिंसात्मक बनेको हो। प्रहरी नियन्त्रण बाहिर देखिएको यस घटनामा घोराहीतर्फ पनि उपमहानगरपालिका र दर्जनौँ सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छ।

 

प्रकाशित मिति : २०८२ भाद्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्