घोराही–१८ गिठेपानी आधारभूत विद्यालयमा अभिभावक अभिमुखीकरण

बालमैत्री वातावरण निर्माणमा अभिभावकहरूको भूमिका अपरिहार्य: प्रियासन


 

घोराही उपमहानगरपालिका–१८ स्थित गिठेपानी आधारभूत विद्यालयमा सोमबार अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक संघको संयुक्त पहलमा आयोजना गरिएको कार्यक्रममा सयौँ अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश वलीको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख बक्ता नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा ‘घोराही बनाऔँ’ अभियानका संयोजक सविन प्रियासनले बालमैत्री वातावरण निर्माणमा अभिभावकहरूको भूमिका अपरिहार्य भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “विद्यालयमा मात्र होइन, घरमा पनि बालबालिकालाई सिकाइमैत्री वातावारण दिन सक्नुपर्छ। अभिभावक सचेत भए मात्र बाल अधिकारको संरक्षण सम्भव हुन्छ।”

कार्यक्रममा बोल्दै प्रधानाध्यापक गिरि प्रसाद भट्टराईले विद्यालयको समग्र शैक्षिक सुधारमा अभिभावकहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। “बालबालिकाको शैक्षिक उपलब्धिमा घर र विद्यालयबीचको सहकार्य महत्वपूर्ण हुन्छ,” उहाँले भन्नुभयो।

कार्यक्रममा विद्यालय प्रशासनले विद्यालयको वार्षिक योजना, पठनपाठनको अवस्था, शिक्षकको भूमिकालगायत विविध विषयमा अभिभावकहरूलाई जानकारी गराएको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक प्रतिनिधि तथा सरोकारवालाहरूको पनि सहभागिता रहेको थियो।

 

प्रकाशित मिति : २०८२ साउन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस्