तुलसीपुर मालपोत कार्यालयमा सरसफाई सुरु



जेन जि आन्दोलनका क्रममा भदौ २४ गते भएको आगलागीमा पूर्ण रूपमा जलेर नष्ट भएको तुलसीपुर मालपोत कार्यालयमा सरसफाई कार्य सुरु गरिएको छ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति तुलसीपुरका व्यवसायीहरू र मालपोत कार्यालयका कर्मचारीहरूले सरसफाईमा सहभागी भएका छन्।

तुलसीपुर उपमहानगरपालिका–६ अमिलिया रोडस्थित भाडाको भवनमा सञ्चालन हुँदै आएको मालपोत कार्यालय जलेपछि तुलसीपुर उपमहानगरपालिका, बबई, दंगिशरण र शान्तिनगर गाउँपालिकाका जग्गाधनीसँग सम्बन्धित महत्वपूर्ण कागजात, मोठ, श्रेष्ता, तामेली र कार्यालयका फर्निचर खरानी बनेका छन्।

केही आधा जलेका कागजातलाई व्यवस्थापन गर्ने कार्य भइरहेको जानकारी सूचना अधिकारी शान्तराज गौतमले जानकारी दिनुभयाे।

कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएकाले केही दिनसम्म सेवा दिन नसकिने बताइएको छ।

त्यस्तै, मालपोत कार्यालय नजिकै रहेका लेखापढी कानुन व्यवसायीहरूको करिब २० वटा सटरमा आगलागी हुँदा करिब ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अध्यक्ष विनोद न्यौपानेले जानकारी दिनुभयाे।

उनीहरूका फर्म र व्यक्तिगत भू–सेवामा रहेका सेवा–ग्राहीका सक्कल नागरिकता, लालपुर्जा र लिखतजस्ता महत्वपूर्ण कागजात समेत जलेर नष्ट भएका छन्।

आन्दोलनकर्ताले मालपोत कार्यालयसँगै उच्च अदालत तुलसीपुर र लोक सेवा आयोग, इलाका प्रशासन कार्यालय, तुलसीपुर उपमहानगरपालिका लगाएत अन्य सरकारि कार्यालयमा समेत आगजनी गरी ध्वस्त पारेका थिए।

 

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस्