
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा अनुमतिभन्दा बढी नदीजन्य पदार्थ उत्खनन् गरेको अभियोगमा दुई जनाविरुद्ध ९५ लाख ९८ हजार रुपैयाँ बराबरको भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दामा गढवा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी र बज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक लक्ष्मणकुमार राना प्रतिवादी छन्।
२०७६ साल पुस १२ गते गाउँपालिका र कम्पनीबीच भएको सम्झौताअनुसार तोकिएको भन्दा बढी ढुंगा, गिट्टी, बालुवा, ग्राभेल र रोडा उत्खनन् भएको पाइएको आयोगले जनाएको छ।
गाउँपालिकाले पटक–पटक राजस्व असुल गर्न पत्राचार गरे पनि रकम बुझाइएन। बरु तत्कालीन अधिकृत योगीले गाउँ कार्यपालिकाको निर्णय विपरीत ९५ लाख ९८ हजार बराबरको बैंक ग्यारेन्टी फुकुवा गरेका थिए।
आयोगले उनीहरूलाई मिलेमतो गरी गाउँपालिकाको राजस्व हिनामिना गरेको र भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको ठहर गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

