तुलसीपुरमा पुस ४ देखि १९ गतेसम्म प्रथम तुलसीपुर महोत्सव



दाङको तुलसीपुरमा घरेलु तथा साना उद्योग महासंघले पुस ४ गतेदेखि १९ गतेसम्म प्रथम तुलसीपुर महोत्सव २०८२ आयोजना गर्ने भएको छ।आइतवार  पत्रकार सम्मेलनमार्फत महोत्सवका मुख्य कार्यक्रम र उद्देश्य सार्वजनिक गरिएको हो।

महासंघका अध्यक्ष लालबहादुर केसीका अनुसार स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलता विकास, औद्योगिक वातावरण सुधार र दिगो अर्थतन्त्र निर्माण महोत्सवका प्रमुख उद्देश्य हुन्। महोत्सव तुलसीपुर ६ घोराही रोडस्थित खुला मैदानमा हुनेछ।

महोत्सवमा घरेलु उत्पाद, कृषि, पर्यटन, प्रविधि, संस्कृति तथा व्यापारसम्बन्धी उत्पादन र नवप्रवर्तनका प्रदर्शनी रहनेछ। स्थानीय कृषि उत्पादनलाई बजारमै जोड्न पातुखोलामा निःशुल्क हाटबजार सञ्चालन गरिने तथा औद्योगिक ग्रामको प्रचार, प्रसारमा स्थानीय सरकारसँग सहकार्य गरिने आयोजकले जनाएको छ।

आगलागी तथा विपद् जोखिम न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम र फायर एक्स्टिङ्गुइशरको निःशुल्क रिफिल व्यवस्था रहनेछ। युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्न बिजनस इन्क्युबेसन सेन्टर (BIC) सुदृढिकरण पनि महोत्सवको लक्ष्यमा छ।

करिब ३ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको महोत्सवमा स्थानीय उत्पादनलाई निःशुल्क स्टल, उत्कृष्ट कृषकलाई पुरस्कार, स्थानीय व्यवसायीलाई २५% स्टल छुट व्यवस्था गरिएको छ।

महोत्सव प्रवेश शुल्क  १०० रुपैयाँ, विद्यार्थीलाई २०% छुट, जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइने जनाइएको छ।

आयोजकले महोत्सवले स्थानीय उद्योग, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेको छ।

 

 

प्रकाशित मिति : २०८२ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस्