तुलसीपुरमा महतवालाई हिंसाबिरुद्धको क्षमता विकास प्रशिक्षण



तुलसीपुर उपमहानगरपालिकाले हिंसा विरुद्धको अभियानमा सहयोग पुर्‍याउन ९ वटा वडाका महतवालाई क्षमता विकास प्रशिक्षण गरेको छ। महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा गरिएको कार्यक्रममा समाजमा हुने विभिन्न प्रकारका हिंसात्मक घटना न्युनिकरणमा महतवाको भूमिका मजबूत बनाउने उद्देश्य राखिएको थियो।

शाखा प्रमुख माया श्रेष्ठका अनुसार मंगलबार २, ४, ६, ८, १०, १२, १४, १६ र १८ नम्बर वडाका महतवालाई मिलापत्रका सीमा, कानुनी प्रक्रिया तथा प्रहरीसँगको सहकार्यबारे प्रशिक्षण दिइयो। थारु समुदायका अगुवा अर्थात् महतवालाई स्थानीय समस्याको समाधानमा प्रभावकारी बनाउने लक्ष्य राखिएको हो।

कार्यक्रममा न्यायिक समितिका संयोजक स्यानी चौधरीले शिक्षाको अभाव र सामाजिक नकारात्मकताले हिंसाका घटना बढाउने बताउँदै सबैलाई सचेत हुन आग्रह गर्नुभयो।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी होम बहादुर पराजुलीले दाङका करिब आधा अपराध तुलसीपुरमै हुने र १८ देखि ४० वर्षका महिला बढी हिंसामा पर्ने जानकारी दिनुभयो। उहाँका अनुसार अवैध रूपमा अमेरिका जाने ट्रेन्ड बढेसँगै लेनदेनका मुद्दा पनि बढिरहेका छन्।

नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले अशिक्षा, आर्थिक अभाव र कमजोर अवस्थाका व्यक्तिहरू शक्तिको आधारमा बढी हिंसामा पर्ने चुनौती बढिरहेको बताउनुभयाे ।

 

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्