
तुफानबाबु श्रेष्ठ
अमर माध्यमिक विद्यालय, तुलसीपुरले अन्तर विद्यालय हाजिरी–जवाफ प्रतियोगिताको उपाधि हात पारेको छ ।
रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा शुक्रवार सम्पन्न प्रतियोगितामा २०० अंक प्राप्त गर्दै अमर मा वि प्रथम भएको हो । प्रथम हुने अमर माध्यमिक विद्यालयले नगद १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यसैगरी प्रतियोगितामा १५५ अंक प्राप्त गर्दै हाम्रो पहुँच सेकेण्डरी स्कूल, तुलसीपुरले द्वितीय स्थान हासिल गरी नगद ६ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ भने १४५ अंकसहित ज्ञान ज्योती माध्यमिक विद्यालय तृतीय भई नगद ४ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सन्दीपन रिजालको अध्यक्षता तथा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का पूर्व असिस्टेन्ट गभर्नर विमल रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिजालले पछिल्लो समय विद्यार्थी जीवन केवल किताबी ज्ञानमा सीमित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले जीवनोपयोगी ज्ञान, समसामयिक विषयबोध, तार्किक क्षमता र आत्मविश्वास विकासका लागि हाजिरी–जवाफ प्रतियोगिताजस्ता बौद्धिक अभ्यासहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहने बताउनुभयो ।
‘विद्यार्थीको बौद्धिकताको वास्तविक मापन कक्षाकोठाभित्र लिइने परीक्षाबाट मात्र सम्भव हुँदैन,’ रिजालले भन्नुभयो- ‘हाजिरी–जवाफजस्ता प्रतियोगिताले बालबालिकामा स्वस्थ प्रतिस्पर्धी भावना विकास गर्नुका साथै समूहमा काम गर्ने क्षमता, समय व्यवस्थापन, आलोचनात्मक सोच र आत्मनिर्भर बन्ने सीप अभिवृद्धि गर्छ । यसले विद्यार्थीलाई केवल उत्तर दिन मात्र होइन, प्रश्न सोध्ने बानी, तार्किक तवरले सोच्ने क्षमता र आफ्ना विचार सार्वजनिक रूपमा प्रस्तुत गर्ने आत्मविश्वास पनि प्रदान गर्छ ।’
विगत लामो समयदेखि दाङ जिल्लाका विभिन्न क्षेत्रमा सामाजिक सेवामा सक्रिय रहँदै आएको रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरले शिक्षा क्षेत्रमा केही नयाँ गरौँ, बालबालिकामा रहेको ज्ञानलाई अझ अगाडि बढाऔँ भन्ने उद्देश्यसहित हरेक वर्षजस्तै यस वर्ष पनि हाजिरी–जवाफ प्रतियोगिता आयोजना गरिएको क्लबका भावी अध्यक्ष तथा कार्यक्रम संयोजक देवेन्द्र केसीले जानकारी दिनुभयो ।
प्रतियोगिताको सञ्चालन क्लबका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको सहजीकरण क्लबका सचिव सचिन पौडेलले गर्नुभएको थियो ।
हाजिरी–जवाफ प्रतियोगितामा तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत गरी ११ वटा विद्यालयको उत्साहजनक सहभागिता रहेको थियो ।
सहभागी विद्यालयका शिक्षकहरूले यस्ता शैक्षिक गतिविधिले विद्यार्थीको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै विद्यालयहरूबीच आपसी सहकार्य र स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने भएकाले समग्र शैक्षिक प्रणालीलाई अझ जीवन्त र प्रभावकारी बनाउन सहयोग पुग्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

