
सरकारले सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा वृद्धि गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सैद्धान्तिक सहमति दिएपछि यातायात व्यवस्था विभागले नयाँ समायोजित अन्तरप्रदेश भाडादर सार्वजनिक गरेको हो।
नयाँ निर्णयअनुसार सार्वजनिक यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशतले बढाइएको छ। त्यसैगरी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक गाडीको भाडा २१.६८ प्रतिशत तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक गाडीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ।
अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनको भाडादर समायोजन गर्ने अधिकार यातायात व्यवस्था विभागलाई रहेको छ भने प्रदेशभित्र सञ्चालन हुने सवारीको भाडा सम्बन्धित प्रदेश सरकारले निर्धारण गर्ने व्यवस्था छ।
यसअघि २०७८ चैत ३१ गतेको मन्त्रिपरिषद् बैठकले इन्धन मूल्यमा हुने उतारचढावअनुसार सार्वजनिक सवारीको भाडा स्वतः समायोजन हुने स्वचालित प्रणाली लागू गरेको थियो। सोही व्यवस्थाअनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा सार्वजनिक यातायात भाडा पनि सोही अनुपातमा समायोजन गरिने विभागले जनाएको छ।

