लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति



लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति देखिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार गत साउन महिनामा प्रदेशभर भएका ४ सय १८ सवारी दुर्घटनामध्ये २ सय ८७ दुर्घटना तीव्र गतिका कारण भएका छन्।
प्रहरीले सार्वजनिक गरेको साउन महिनाको ट्राफिक गतिविधि विवरणअनुसार दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ भने ७ सय ११ जना घाइते भएका छन्। मृत्यु हुनेमा २८ पुरुष र ७ महिला रहेका छन्।
दुर्घटनाको दोस्रो प्रमुख कारण मादक पदार्थ सेवन गरी सवारी चलाउनु रहेको छ। साउन महिनामा मापसेका कारण ७३ वटा दुर्घटना भएका छन्।
यस्तै, चालकको असक्षमता तथा लापरबाहीका कारण ३९, अन्य लापरबाहीका कारण ६ र ब्रेक फेल भएर ६ वटा दुर्घटना भएका छन्।
छाडा चौपाया तथा जनावरका कारण ४, हतारमा बाटो काट्दा २ र अनावश्यक ओभरटेकका कारण एउटा दुर्घटना भएको प्रहरी तथ्यांकमा उल्लेख छ।
प्रहरीले तीव्र गति नियन्त्रण, मापसे गरेर सवारी नचलाउने तथा ट्राफिक नियमको पालना गर्न चालक र यात्रुलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ भाद्र ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्