तुलसीपुरका आमाहरुलाई मिडिया साक्षरता



जित सागर जिएम

तुलसीपुर-६ शिखरकोलिनिका प्रमिला तिवारीले विश्वसनिय समाचारको लागि रेडियो सुन्ने गर्नुहुन्छ । उहाँले सामाजिक संजालमा आउने सबै कुरा विश्वासीलो हुन्नन् भन्ने बुझ्नुभएको छ । त्यसकारण पनि उहाँले सामाजिक संजालमा आउने सबै कुरालाई लाईक, शेयर पनि गर्नुहुन्न । सामाजिक संजाल र मूलधारका मिडिया फरकफरक हुन् । दुवै माध्यम सुचना प्राप्त गर्ने माध्यम भएपनि सामाजिक संजालमा आउने सबै सुचना सत्य हुँदैनन् । मिडिया साक्षरताबारे आमाहरुले चासो दिएका छन् ।

टिका पौडेललाई फेसबुकमा आउने सबै कुरा समाचार हुन कि जस्तो लाग्थ्यो । तर मिडियाबारे बुझ्ने मौका पाएपछि उहाँले फेसबुक भन्दा पनि रेडियो सुन्ने गर्नुभएको छ । तुलसीपुर-७ का पौडेलले अब समाचारको विश्वसनियताका लागि मिडियाको छनौट गर्न सक्नुपर्ने बताउहुन्छ ।

सामाजिक संजाल फेसबुक, युट्युव लगायतका माध्यमको पहुँच बढ्दै गएको छ । तर ति संजालमा आउने धेरै कुरा जुन समाज र परिवारका लागि अपाच्य छन् । जुन कुरा रेडियो, पत्रपत्रिका र टेलिभिजनमा आउँदैनन् । तर आम नागरिकको पहुँचमा सामाजिक संजाल बढ्दो छ । अनि ति संजालमा आउने कुराको सत्यतामा निकै प्रश्न उठ्ने गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडा सदस्य बिमला शर्माले सामाजिक संजाल चलाएपनि समाचारका लागि रेडियो सुन्ने गर्नुभएको छ ।

युट्युव र फेसबुक लगायतका सामाजिक संजालबाट आएका सामग्रीलाई समाचारको रुपमा लिने प्रवृति रहेकोले पनि समस्या छन् । मिडियाबारेमा नागरिकलाई बुझाउन आवश्यक रहेको नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले बताउनुभयो । आम नागरिकले सामाजिक संजालका आएका सबै सामग्रि समाचार होइनन् भन्ने बुझ्न सकेमा मूलधारका मिडियाप्रतिको विश्वास बढ्दै जाने देखिएको छ ।

तुलसीपुरमा सोमबार आमाहरुलाई मिडिया साक्षरता तालिम प्रदान गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको १९ वटै वडाका करिब ६० जना आमाहरुलाई मिडियाबारे सचेतना प्रदान गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासंघ दाङले मिडिया साक्षरता सचेतना प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता तथा नगर उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नगरप्रमुख टिकाराम खड्का, प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी, महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस सेन्टर दाङका उपाध्यक्ष राकेश बस्नेत लगायतले मिडियामा आउने सामग्रिको विश्वसनियताका लागि मूलधारकै मिडिया रेडियो, पत्रपत्रिका र टेलिभिजनमात्रै रहेको बताउनुभयो । सामाजिक संजालमा आउने मिथ्या समाचारले नागरिकलाई भ्रमित पारिरहेको उहाँको भनाई छ ।

कार्यक्रममा प्रेस काउन्सील केन्द्रिय सदस्य शरद अधिकारी र नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीले सहभागीलाई मिडिया र कानुनी कुराको बारेमा प्रशिक्षण गर्नुभएको हो । कार्यक्रममा मूलधारका मिडिया र सामाजिक संजालको महत्व बुझाइएको छ । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका सचिव आरके शितल र सहसचिव दिप्तीशिखा चौधरीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ असार ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्