तुलसीपुर विद्युत प्राधिकरणको चरम लापरबाहीले सिमा नाघेपछि पूर्व सिचाई मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरी, नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रमा पुग्नु भएको छ । पश्चिम दाङका तीनवटा पालिका प्रमुख र काँग्रेस नेताहरु सहित विद्युत हाकीमको कार्यकक्षमा पुग्नु भएका पूर्व मन्त्री गिरीले जनतालाई अनावश्यक रुपमा दुःख दिने काम बन्द गर्न आग्रह गर्नुभयो ।
‘पैसा दिए काम हुने नत्र नहुने भन्ने जनगुनासो व्यापक छ । घर हालेको ६ महिनासम्म जनताले विद्युत मिटर पाउँदैनन् । खेतिपातीको सिजनमा कृषि मिटर बितरण गरिएको छैन् । ट्रान्समिटर सहित लाइन विस्तार नगर्दा निर्माण भएका डिपबोरीङ अलपत्र परेका छन् । विद्युत भोल्टेज कम हुँदा गाउँघरमा रहेका कुटानी पीसानीका मिलहरु प्रभावित भएका छन् । यो जनताको गुनासो हो । मेरो होइन ।’ पूर्व सिचाई मन्त्री गिरीले भन्नुभयो ।
विद्युत प्राधिकरणको चरम लापरबाहीका कारण जनताले हैरानी व्यहोरेको भन्दै पश्चिम दाङ बासीले व्यापक रुपमा आफुसंग गुनासो गरेपछि बाध्य भएर पालिका प्रमुख सहित प्राधिकरणमा आएको गिरीले बताउनुभयो । आर्थिक बर्षमा सम्पन्न भएका योजना र आगामी बर्षमा गरिने कामको अभिलेखिकरण गर्नुपर्ने र त्यसको जानकारी पालिका प्रमुखलाई पनि गराउनपर्ने भन्दै गिरीले हुचुवाका भरमा काम नगर्न सुझाव दिनुभयो ।
एकसय घर हुँदा जडान गरिएका ट्रान्सफारमर एक हजार घर धुरी हुँदा समेत अर्को नयाँ जडान नगर्नु गैर जिम्मेवारी कार्य भएको भन्दै जनता प्रति उत्तरदायी भएर काम गर्न आग्रह गनुभयो । सोही अवसरमा नेपाली काँग्रेसका नगर सभापति सुरेश हमालले प्राधिकरणले बिनाजानकारी विद्युत लाइन काटेर आफ्नो चरित्र उदांगो हुने काम गरेको बताउनुभयो ।
‘६र७ बर्षसम्म बेखबर भएर बस्ने अनि एकैचोटी बर्षौसम्मको बक्यौता बुझाउ भने पछि कसरी बुझाउन सक्छ । लाइन काट्नु भन्दा । पहिला जानकारी गराउनुस । किस्तामा पैसा बुझाउँदै छ भने पर्खिनुस । यदि त्यसो भएन भने पत्र पठाउनुस । तीन पटकसम्म पनि ताकेता गर्दा बक्यौता बुझाएन भने लाइन काटनुस ।’ नगर सभापति हमालले भन्नुभयो ।
पैसा तिर्दातिर्दै पार्टी कार्यालयको लाइन काट्छु भनेर धम्काउने गरेको बताउँदै नगर सभापति हमालले मनलाग्दी नगर्न चेतावनी दिनुभयो ।
‘मेरो परिचय दिरहनु पर्दैन । म आर्मी स्टायलको मान्छे हुँ । बोलेपछि काम हुनुपर्छ । तिर्छु भन्दा भन्दै बिना जानकारी लाइन काटिएको छ । यसबाट पिडित तुलसीपुरका व्यवसायी मोहन सुनार पनि हुनुहुन्छ ।’ नगर सभापति हमालले भन्नुभयो ।
विद्युत हाकीमले के भने ?
गुनासै गुनासाको चाङ लिएर आएको जम्बो टोलिलाई केन्द्र प्रमुख ज्ञानप्रसाद फर्सालले खासै गम्भिर रुपमा नलिएको बुझीएको छ । हावाहुरी र कहिले काँही सिस्टमबाटै लाइन जाने गरेको बताउँदै फर्सालले ६० दिन पुगेपछि नेता भएपनि कार्यकर्ता भएपनि उद्योग भएपनि लाइन काट्ने चेतावनी दिनुभयो ।
केन्द्रिय सदस्य गिरीसंगै गएका बबई गाउँपालिका कुलबहादुर खत्री, शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, दंगीशरण गाउँपालिका अध्यक्ष सम्भु गिरी, काँग्रेस युवा नेता बिमल रिजाल लगाएत बिधुत कार्यालय तुलसीपुर पुगेका थिए ।