अबको विद्यार्थी सशक्त, सिर्जनशील र जिम्मेवार हुनुपर्छ : प्रियासन



नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव तथा ‘घोराही बनाऔं अभियान’का संयोजक सविन प्रियासनले अबको विद्यार्थी समाज बुझ्ने, नेतृत्व गर्ने र परिवर्तन गर्ने क्षमतायुक्त हुनुपर्नेमा जोड दिनुभएको छ।

हाइलाइट्स इंगलिस बोर्डिङ स्कूल, बसन्तपुरद्वारा आयोजित ‘अबको विद्यार्थी कस्तो हुनुपर्छ’ विषयक उत्प्रेरणा कार्यक्रममा बोल्दै प्रियासनले अबको विद्यार्थी केवल प्रमाणपत्र बोकेको व्यक्ति नभई समाजको प्रकाशस्तम्भ हुनुपर्ने बताउनुभयो।

उहाँले प्रतिस्पर्धात्मक युगमा सिर्जनशीलता, बहुआयामिक सीप, प्रविधि दक्षता, नैतिक मूल्य र आत्मनिर्भर सोच आवश्यक रहेको उल्लेख गर्दै विद्यार्थीमा ज्ञान, सीप, चरित्र, दृष्टि र साहसको समुचित संयोजन हुनु पर्ने धारणा प्रस्तुत गर्नुभयो।

“अबको विद्यार्थी भनेको परीक्षा पास गर्ने मात्र नभई विचार सिर्जना गर्ने, नेतृत्व गर्ने र समाज परिवर्तन गर्ने व्यक्ति हो,” प्रियासनले भन्नुभयो, “उसले जिते समाज जित्छ, उसले हारे देश हार्छ।”

कार्यक्रममा विद्यालयका प्रिन्सीपल कुमार नेपालीले ग्रामीण क्षेत्रको विद्यालय सुधारमा प्रियासनको सक्रियता प्रशंसनीय रहेको बताउँदै उहाँद्वारा प्रस्तुत अवधारणालाई विद्यालयमा कार्यान्वयन गर्ने जानकारी दिनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रियासनलाई सम्मानसमेत गरिएको थियो। कार्यक्रममा शिक्षक, सञ्चालक समिति प्रतिनिधि, विद्यार्थीलगायतको सहभागिता रहेको थियो।

उक्त अवसरमा प्रियासनले साना कक्षाका बालबालिकालाई सकारात्मक सोच र व्यवहारबारे अनौपचारिक प्रशिक्षणसमेत दिनुभएको थियो। यस्तै कार्यक्रम दाङका अन्य विद्यालयमा सञ्चालन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्