थारु कल्याणकारिणी सभा दाङ देउखुरी क्षेत्र नम्बर ३ ले माघ महाेत्सवको आयोजना गर्ने भएको छ । माघ महाेत्सव मनाउने विषयमा थारु अगुवातथा बुद्धिजीविहरूसँग छलफल गरेको छ । आज शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित नमुना भूह्याँर थान जबरपुरमा थारु अगुवा, बुद्धिजीवी, थारू जनप्रतिनिधिहरु संग माघ महोत्सव गर्ने विषयमा छलफल गरेको हो ।
थारु समुदायको हराउदै गएको संस्कृति संरक्षण र प्रबर्द्धनका लागि समुदायलाई सचेत बनाउने र स्थानीय सरकार तथा विभिन्न थारू संघ संस्थाहरूको सहकार्य आवश्यक रहेकोमा उनीहरुले जोड दिएका थिए । थारु समुदायको माघ पर्वको महत्वलाई जनसमूहमा प्रकट गर्दै, संस्कृति र परम्पराहरूको संरक्षणमा समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम गर्ने कुरामा छलफल गरेकाे छ ।
माघ महोत्सवको लागि दाङ क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने तुलसीपुर उपमहानगरपालिका, दंगीशरण गाँउपालिका, शान्तिनगर गाँउपालिका, बबई गाँउपालिका, तुलसीपुर ११ नम्बर वडासँग समन्वय गरेर अघि बढ्ने निणर्य गरिएको सचिव जितेन्द्र चौधरीले जानकारी दिनुभयो ।
यसैबिच स्थानीय सरकारसंग समन्वयका लागि पाँच सदस्यीय टोलि गठन भएको छ । जसमा मोहन कुमार थारु, आशा चौधरी, सत्यनारायण चौधरी, जनकलाल चौधरी र इन्द्रजित चौधरी रहनुभएको छ ।