सुँगुर र बङ्गुरमा देखिने छिटो फैलिने रोग अफ्रिकन स्वाइन फिभर विभिन्न जिल्लामा देखिएको छ । अहिलेसम्म पाँच वटा जिल्ला– काठमाण्डौ, ललितपुर, तनहुँ, लमजुङ र कास्कीमा पुष्टि भएको छ । ललितपुरको गोदावरी नगरपालिका, काठमाण्डौको कीर्तिपुर नगरपालिकामा समेत महामारीजन्य रोग ुअफ्रिकन स्वाइन फिभरु देखिएको सम्बन्धित पालिकाले जनाएका छन् । सङ्क्रमण देखा परेका जिल्लामध्ये तनहुँमा किसानले पालेका बङ्गुर र सुँगुर मरेको समेत पाइएको छ । रोगको सङ्क्रमण पुष्टि भए पनि पशु सेवा विभागसँग मरेका सुँगुर र बङ्गुरको विवरण भने छैन ।
यो सरुवा रोग हो । यो रोगको सङ्क्रमण सुँगुर र बङ्गुर तथा बँदेल प्रजातिबाट अरू पशुमा सरेको पाइएको छैन । पशु चिकीत्सकका अनुसार सुँगुर र बङ्गुर तथा बँदेल प्रजातिका पशुमा सङ्क्रमण भइहाले मर्ने जोखिम उच्च हुन्छ । तर सङ्क्रमित त्यस्ता पशुबाट रोग मानिसमा भने सर्दैन । यो रोग विशेषगरी रोगी सुँगुर र बङ्गुर वा त्यसका पाठापाठी वा मासु वा रोगी पशुको सम्पर्कमा आएका सामग्रीको लसपस वा ओसारपसारबाट फैलिन सक्छ ।
यो रोगको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, खाना नखाने, बान्ता गर्ने, छेर्ने, छटपटाउने, लडखडाउने, तुहिनेजस्ता लक्षणसहित सुँगुर, बङ्गुर मर्ने गर्छ । यो रोगको सङ्क्रमण एकबाट अर्कोमा छिटो सर्ने तर प्रभावकारी उपचार नभएको पशु चिकीत्सकहरु बताउँछन् ।
नेपालमा यो रोग पहिलो पटक २०७९ साल जेठ २ मा पुष्टि भएको थियो । देशका २८ जिल्लाका विभिन्न ठाउँमा सङ्क्रमण देखियो । यो सङ्क्रमणबाट त्यस बेला ७० हजार बङ्गुर र सुँगुर मरेको तथ्याङ्क छ । रोगको निगरानीका क्रममा अहिले फेरि पाँच वटा जिल्लामा पुष्टि भएको हो ।
सुरक्षीत हुने तरीका
१.फार्ममा नियमित सरसफाइ गर्ने
२. चुना, ब्लिचिङ पाउडर, फर्मालिन लगायतका निःसङक्रमणका औषधि छर्ने
३. रोगको शङ्का लागेका पशुलाई बथानबाट छुट्टाएर अलगै गर्ने
४. मरेको पशुलाई खाडल खनेर राम्रोसँग गाड्नेरपुर्ने
५. पशुको ओसारपसारमा सावधानी अपनाउने, स्वास्थ्य प्रमाणपत्र लिएर मात्र स्वस्थ सुँगुररबङ्गुर वा मासुको ओसारपसार गर्ने
६. आफ्नो फार्ममा नियमित अनुगमन गर्ने
७. तयारी दानाबाहेक अन्य आहारा खुवाउनु परेमा राम्ररी पकाएर खुवाउने