सार्वजनिक सेवा सहजरुपमा लिन नपाएको जेष्ठ नागरिकले गुनासो गरेका छन् । जेष्ठ नागरिकका अधिकार विषयक तुलसीपुरमा भएको संवाद कार्यक्रममा जेष्ठ नागरिकले विशष गरि यातायात सेवा, स्वास्थ्य सेवा, बैंकिङ सेवा सहजरुपमा नपाएको गुनासो गरेका हुन् ।कुनै पनि निकायमा सेवा प्रवाह गर्दा जेष्ठ नागरिकहरुकाे स्वास्थ्य अवस्थालाई ध्यान नदिएकाे उनिहरुकाे गुनासाे थियाे।
जेष्ठ नागरिक बुद्धीराम भुषालले सार्वजनिक यातायातमा जेष्ठ नागरिकले पाउनुपर्ने छुट नपाएको, बस स्टापले सम्मानजनक व्यवहार नगरेको, स्वास्थ्य सेवा पनि सहजरुपमा पाउन नसकेको गुनासो गर्नुभयो ।
उहाँले जेष्ठ नागरिकका अधिकार व्यवहारतह कार्यान्वयनका लागि सरोकारवाला सबै निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जेष्ठ नागरिक ललित बहादुर वलीले जेष्ठ नागरिक अधिकार व्यवहारिकरुपमा कार्यान्वयनका लागि वडा वडामा सचेतना कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।
यस्तै नेब बहादुर वलीले जेष्ठ नागरिकको अधिकार कार्यान्वयनमा स्थानीय सरकार र वडा सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो । कार्यक्रममा जेष्ठ नागरिक लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारीले संविधानमा उल्लेख भएका जेष्ठ नागरिकका अधिकार कार्यान्वयनका लागि माग गर्नुभयो ।
कार्यक्रममा सिद्धार्थ बैंक तुलसीपुरका प्रमुख जीवन आचार्य र महालक्ष्मी बैंकका तुलसीपुर शाखा प्रमुख खगेन्द्र बिएमले अशक्त जेष्ठ नागरिकलाई गाउँमै गएर सामाजिक सुरक्षा भत्ता दिन सकिने तर वडाले यसको समन्वय गर्नुपर्ने बताउनुभयो ।
राप्ती प्रादेशिक अस्पतालका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीले जेष्ठ नागरिक स्वास्थ्य बिमामा जोडिन नसकेको बताउनुभयो ।
उहाँले बजेट अभावमा पनि अस्पतालले सामाजिक इकाईबाट प्रदान गर्ने सेवामा निरन्तरता दिएको बताउनुभयो । ईलाका प्रहरी कार्यालय तुलसीपुरका रबिन्द्र मल्लले जेष्ठ नागरिकलाई न्याय सेवामा प्राथमिकतामा राख्ने गरेको बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका-६ का निवर्तमान अध्यक्ष नवराज लामीछाने, स्वास्थ्य शाखा प्रमुख ओम पी न्यौपाने लगायतले मन्तव्य राख्नुभएको हो ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले जेष्ठ नागरिकको अधिकार कार्यान्वयनका लागि स्थानीय सरकार गम्भिर रहेको बताउनुभयो । उहाँले यातायात क्षेत्रमा कानुनमा लेखिएका नितिलाइ कार्यान्वयन गरि जेष्ठ नागरिकलाई दिइने सेवामा गम्भीर बन्न यातायात समितिलाई आग्रह गर्नुभयाे । बैंक सम्म आउनुपर्ने बाध्यताकाे अन्त्य गर्दै पञ्जिकरण शाखा र बैंकले घरदैलोमा गएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभयाे ।
उपप्रमुख स्यानी चौधरीले जेष्ठ नागरिक समाजको धरोहर भएको उनिहरुको सम्मानमा सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा संवाद समुह दाङको सहजीकरणमा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण संवाद समुहका सुशिल बस्नेत र शुष्मा लामिछानेले गर्नुभएको हो ।