वन उद्यम र सहकारीहरूको समन्वयले मात्रै दिगो आर्थिक समृद्धि हासिल गर्न सकिने एक कार्यक्रमका सहभागीले बताएका छन् । उनीहरुले सहकारी मार्फत वन स्रोतको उपयोग गरेर स्थानीय स्तरमा सामान उत्पादन गर्न सकेमा रोजगार सिर्जना गर्न सकिनेमा जोड दिएका छन् ।
ग्रीन फाउन्डेसन दाङको आयोजनामा आइतबार तुलसीपुरमा आयोजित कार्यक्रममा बोल्ने सहभागी वक्ताहरुले आर्थिक समृद्धिका लागि सहकारीमार्फत बनको स्रोत प्रयोग गर्न सकिने बताए ।
कार्यक्रममा कृषि वन उद्यम र सम्वृद्धिमा सहकारीको भुमिका महत्त्वपूणर् रहेको ग्रिन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले बताउनुभयो । उहाँले वन क्षेत्रमा रहेको वाँझो जमिनलाई सदुपयोग गरेर घाँसपात, कृषि लगाएत फलफूल खेति गर्न सकिने र यो काम सहकारीको माध्यमबाट रोजगारीको सिर्जना गर्न सकिने बताउनुभयो ।
सामान्यतया सडक बढार्ने कुचोसमेत बाह्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था रहेकाले समाज रूपान्तरणका लागि आफैबाट सुरूवात गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेले उत्पादन र बजारीकरणलाई प्रोत्साहन गर्दै जलवायु परिवर्तनको असरलाई न्युनिकरण र शिथिल अर्थतन्त्रलाई गतिशिल अर्थतन्त्रका रूपमा विकासका लागि कृषि वन उद्धम र सहकारीहरूको पारस्परिक सम्बन्ध रहनुपर्नेमा जोड दिनुभयो ।
लुम्बिनी प्रदेश सहकारी संघका सचिव रूप बहादुर खत्रीले सहकारी संस्थाहरू नीति र विधि अनुसार सञ्चालन गर्न नसक्दा समस्या रहेको बताउनुभयो । कतिपय सहकारी उदेश्यमुलक तवरले सञ्चालन नभएको पाइएको भन्दै हरेक आर्थिक वर्षपछिको असोज मसान्तसम्ममा सहकारी संस्थाले साधारणसभा गरिसक्नुपर्ने सहकारी ऐनमा व्यवस्था रहेको बताउनुभयो ।
तुलसीपुर-६ का वडा अध्यक्ष दुजमान भण्डारीले केही सहकारीहरूले उद्देश्य अनुसारको कार्यक्रम सञ्चालन गर्न नसक्दा आर्थिक समृद्धि प्राप्त गर्न कठिनाई भएको बताउनुभयो ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले सरकारको तीन खम्बे अर्थनितिमा सहकारीलाई एक खम्बाको रूपमा राखेपनि निजी र सरकारी क्षेत्रमा मात्र राज्यले ध्यान दिँदा आर्थिक समृद्धि हाँसिल गर्न कठिनाई भएको बताउनुभयो । समुदायमा आर्थिक समृद्धि हासिल गर्न कृषि वन र सहकारी मार्फत पारस्परिक सम्बन्ध हुनुपर्ने प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताउनुभयो ।
ग्रीन फाउन्डेसन दाङका अध्यक्ष विष्णु केसीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा तुलसी उपभोक्ता सहकारी संस्थाका अध्यक्ष भाष्करराज गौतम,कालिमाटी गाउँपालिका वन महासंघ सल्यानका अध्यक्ष शसीराम वली,नवदुर्गा कृषि सहकारी संस्थाका सल्लाहकार दिनानाथ भट्टराई
, जिल्ला वन महासंघ दाङका सदस्य नेत्रमणी शर्मा,तुलसीपुर कृषि वन उद्धमि सहकारी संस्थाका अध्यक्ष खुम प्रसाद भण्डारी,अमृतपुर सामाजिक उद्धमी सहकारी संस्थाका अध्यक्ष टेकनाथ कुँवर,राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्लीराज भण्डारी लगायतले कृषि उत्पादनमा लागत धेरै आम्दानी थोरै हुने र बजारीकरणको समेत समस्या भएकाले कच्चा पदार्थदेखि बजारीकरण मार्फत सदस्य उद्धमीहरूलाई मुनाफा हुनेगरी कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रमको सहजीकरण सस्थाका सचिव जितबहादुर खड्काले गर्नुभएको थियो ।