जिल्ला प्रशासनद्वारा हापुरे बजार अनुगमन



बबई गाउँपालिकाको हापुरे बजारको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाईमा हापुरे बजारको अनुगमन गरिएको हो । दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा मगरको अगुवाई हापुरे बजारका विभिन्न पसलको अनुगमन गरिएको हो ।

हापुरे बजारका पाँच बटा थोक बिक्रेताका रुपमा रहेका किराना पसल, एउटा होटल, एउटा कोल्ड स्टोर र एक वटा पाउँरोटी उद्योगको अनुगमन गरिएको थियो । अनुगमन टोलीले दर्ता नभएका पसललाई दर्ता हुन र करको दायरामा आउन अनुरोध गरेको थियो । त्यस्तै म्याद गुज्रेका सामानलाई नष्ट गर्नका लागि प्रक्रिया अघि बढाएको थियो भने बाँकी सामान पसल मालिकलाई फिर्ता गर्नका लागि आग्रह गरिएको थियो ।

यस्तै होटल सञ्चालनका लागि सरसफाई तथा दर्ता एवं ब्यबस्थापन र किचनमा प्रयोग हुने तेलको गुणस्तरमा ध्यान दिन आग्रह गरिएको थियो । यसैगरी पाउँरोटी उद्योगलाई दर्ता र करको दायरामा लैजान अनुगमन टोलीले आग्रह गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले हरेक महिनामा बजार अनुगमनलाई प्राथमिकतामा राखेको र त्यसैको निरन्तरको अबस्थामा हापुरे बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा मगरले जानकारी दिनुभयो । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन समिति हुन्छ भने स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति हुन्छ ।

बजार अनुगमनका क्रममा खाद्य तथा गुण नियन्त्रण डिभीजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक बिबेककुमार सुबेदी, ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रहरी बरिष्ठ निरिक्षक देवबहादुर केसी, स्वास्थ शाखा बबईका प्रमुख हरिबहादुर खड्का, स्टोर प्रमुख दिलिप केसीको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्