तुलसीपुरमा बसको ठक्करबाट मृत्यु भएका मृतकको परिवार आन्दोलीत, स्थिति तनावग्रस्त



तुलसीपुरको बसपार्कमा बसको ठक्करबाट मृत्यु भएका तिर्सना घर्ती मगरको परिवार आन्दोलीत भएका छन् । बसको ठक्करबाट उहाँको मृत्यु भएपछि  आफन्ती र स्थानीयहरूले न्यायको माग गर्दै बसपार्कमा विरोध प्रदर्शन गरेका हुन् ।

हिजो विरेन्द्र चोकबाट बसपार्कतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ४४ नम्बरको बसको ठक्करबाट तुलसीपुर–५ सम्झना टोलकी ३९ वर्षिय तिर्सना घर्ति मगरको मृत्यु भएको थियो ।

हिजो (बुधबार) दिउँसो पौने दुई बजेतिर तुलसीपुर–५ बसपार्क स्थित माछापुछ्रे गेट नजिकै बसले घर्तिलाई ठक्कर दिएको हो । बसको ठक्करबाट गम्भीर घाइते भएकी तिर्सनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्‍याए लगत्तै उपचारकै क्रममा सवा २ बजेतिर मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ ।

ठक्कर दिने बस र चालक तुलसीपुर–६ का ४२ वर्षका खेमराज ओलीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ । तर मृतकका परिवारजनले यातायात समिति र प्रहरीले दोषीलाई उचित कारवाही नगरेको भन्दै आन्दोलन जारी राखेका छन् ।

पीडित पक्ष, यातायात समिति र प्रहरी प्रशासनका बीचमा छलफल चली रहेको  छ । पीडित पक्षले चालकको लापरबाहीका कारण घटना भएको भन्दै उचित क्षतिपूर्ती पाउनु पर्ने माग गर्दै आएका छन् ।

पीडित पक्षको मागको आधारमा त्यो दुर्घटनाको यथार्थ पत्ता लगाउनको लागि सिसीटिभी फूटेजहरु झिकेर लगेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी  निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो ।

मृतक महिलाको शवलाई अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमै राखिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्