रामप्रसाद सुवेदी
ग्रामीण क्षेत्रका महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, हापुरे शाखाले बार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार हापुरे शाखा प्रवन्धक विशाल विश्वकर्माकाे अध्यक्षता एंव संस्थाकाे केन्द्रीय कार्यालयका अनुगमन अधिकृत अर्जुन पौडेलकाे प्रमुख आतिथ्यता तथा बबई गाउँपालिकाकी उपाध्यक्ष बमकुमारी खड्काकाे विशेष आतिथ्यतामा बबई गाउँपालिकाकाे सभाहलमा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा बबई, शान्तिनगर, दंगिशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका केन्द्रहरूबाट सहभागी भएका केन्द्र प्रमुखहरूले लघुवित्त संस्थाबाट प्राप्त सेवा–सुविधा र त्यसको प्रभावबारे अनुभव प्रस्तुत गरेका छन्। उनीहरूले महिला सशक्तीकरण, आय आर्जन, सामाजिक जागरुकता लगायतका क्षेत्रमा लघुवित्तले पुर्याएको योगदानको चर्चा गरेका थिए । केन्द्र प्रमुखहरूले सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गरिनु पर्ने, आयमूलक व्यवसायमा तालिम प्रदान गरिनुपर्ने जस्ता विषयमा संस्थाको ध्यानाकर्षण समेत गराएका थिए।
कार्यक्रममा केन्द्र नं. ४६ की केन्द्र प्रमुख कल्पना वलीले बोल्दै आफू लघुवित्तमा आबद्ध भएपछि महिलाहरूको आत्मविश्वास, बचत संस्कार र आर्थिक पहुँचमा उल्लेखनीय सुधार आएको बताउँदै, संस्था ग्रामीण महिलाका लागि जीवन परिवर्तनको आधार भएको धारणा राख्नुभयाे। कार्यक्रममा बबई गाउँपालिकाका कार्यपालिका सदस्य नोखी डाँगी, इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख वरिष्ठ प्रहरी नायब निरिक्षक देवबहादुर केसी, पुरन्धारा स्वास्थ्य चौकीका प्रमुख सरद राजगिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियाे ।
कार्यक्रमकाे अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेका केन्द्रहरूलाई सम्मान समेत गरिएको थियो। कार्यक्रमको सञ्चालन हापुरे शाखाका कर्मचारी उमाकान्त पोख्रेलले गर्नुभएको थियो। कार्यक्रमले ग्रामीण समुदायमा वित्तीय साक्षरता अभिवृद्धि गर्नुका साथै संस्थाको सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउन सुझावहरू संकलन गरीएकाे थियाे ।