लुम्बिनी प्रदेशमा १८औँ गणतन्त्र दिवस: गणतन्त्रकाे उपलब्धिलाई मिलेर संस्थागत गराैं:मुख्यमन्त्री आचार्य




लुम्बिनी प्रदेश सरकारले १८औँ गणतन्त्र दिवस भव्य रूपमा विविध कार्यक्रमसहित मनाएको छ । प्रभातफेरी, सांस्कृतिक झाँकी र मुख्य समारोह आयोजना गर्दै प्रदेशले दिवसलाई गौरवपूर्ण रूपमा मनाएको हो ।

मुल समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्र नेपालको गौरवपूर्ण उपलब्धि भएको बताउनु भएको छ । याे उपलब्धि नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट सम्भव भएको उल्लेख गर्नु भएको छ ।

मुख्यमन्त्री आचार्यले समावेशी, समानुपातिक, न्यायसंगत र उत्तरदायी शासनको अभ्यास सुदृढ गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले गणतन्त्रले अधिकारसँगै कर्तव्य बोध गराएको उल्लेख गर्दै सेवा प्रवाह, सुशासन र समृद्धि निर्माणमा सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले लुम्बिनी प्रदेश सरकार कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवा उद्यमशीलता तथा स्वरोजगारलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिनुभयो । संघीयताको अभ्यासलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रदेश सरकारले त्यस दिशामा प्रतिबद्धतापूर्वक काम गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले अघिल्ला पुस्ताको योगदानको कदर गर्दै भावी पुस्तालाई समावेशी, समतामूलक र आत्मगौरवयुक्त समाज हस्तान्तरण गर्ने संकल्प गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले गणतन्त्र जनताको शासन प्रणाली भएको उल्लेख गर्दै यसको संस्थागत सुदृढीकरण तथा विकासमा जोड दिनुभयो । उहाँले राजनीतिक संघीयता प्राप्त भए पनि प्रशासनिक तथा वित्तीय संघीयताको व्यवहारिक कार्यान्वयन अपरिहार्य रहेकाे धारणा व्यक्त गर्नुभयो ।

पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले गणतन्त्रको मूल उपलब्धि संघीयता भएको उल्लेख गर्दै यसको लक्ष्य विकास भएको बताउनुभयो । उहाँले अधिकार प्रदेशमा हस्तान्तरण गर्न संघीय सरकारको प्रतिबद्धता आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो`संघीय सरकार मुठ्ठी कसेर बस्नु हुँदैन । अधिकार दिन मुठ्ठी फुकाउनु जरुरी छ ।´

विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले गणतन्त्रलाई सुदृढ गर्दै जनताको आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले अधिकार मात्र नभई कर्तव्यको अभ्याससमेत आवश्यक रहेको धारणा राख्नुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमकाे सञ्चालन बरिस्ठ शाखा अधिकृत गंगाधर पाण्डेले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्