तुलसीपुर उपमहानगरपालिका महिला नमुना सांसदहरूको बैठक आज तुलसीपुरमा सफलतापूर्वक सम्पन्न भएको छ। महिला, बालबालिका तथा सामाजिक विकास शाखाको आयोजनामा सम्पन्न उक्त बैठकमा विभिन्न विषयगत समितिका महिला सांसदहरूले आ-आफ्नो वडामा सञ्चालित महिला लक्षित कार्यक्रमहरूको अनुभव र चुनौतीहरू साझा गरे।
बैठकमा बोल्दै कानुन तथा सामाजिक न्याय संयोजक युवा कराराले पछिल्लो समय महिला क्षमता अभिवृद्धि र सीप विकासका क्षेत्रमा प्रत्येक वडामा सकारात्मक र उपलब्धिमूलक कार्यक्रमहरू सञ्चालनमा रहेको जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमलाई दिगो बनाउन र रोजगारीसँग जोड्न आर्थिक सशक्तिकरणको खाँचो औंल्याउँदै निरन्तरता र व्यवस्थापन आवश्यक रहेको धारणा राख्नुभयो।
सांस्कृतिक समिति संयोजक दिलमाया नेपालीले दलित महिलालाई केन्द्रमा राखी प्राथमिकताका साथ कार्यक्रमहरू निर्माण गर्न सफल भएको बताउनुभयो। महिलाको जीवनस्तर उकास्ने यस्ता योजनाहरूले सामाजिक समावेशितालाई सुदृढ बनाउने उहाँको विश्वास थियो।
सूचना तथा संचार समन्वय तथा साझेदारी संयोजक लालमती भण्डारीले महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले आर्थिक सशक्तिकरणमा केन्द्रित योजनाहरू आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले व्यावहारिक र जीवन उपयोगी कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
मानव स्रोत विकास तथा व्यवस्थापन समिति संयोजक रेखा शर्माले महिलालाई सीपमूलक मात्र होइन, क्षमतामूलक तालिममार्फत नेतृत्व विकासमा समेत जोड दिइएको जानकारी गराउनुभयो।
शान्ति तथा मानव अधिकार संरक्षण समिति संयोजक मधुमती सुनारले महिलालाई उद्यमशील बनाउने खालका कार्यक्रमहरू सञ्चालनमा रहेको बताउँदै महिलाको आर्थिक आत्मनिर्भरताका लागि यस्ता पहलहरू अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, सुचना संचार समन्वय तथा साझेदारी सदस्य सीता कुमारी लामिछानेले दलित महिला लक्षित र कृषिमा आधारित अनुदानमूलक कार्यक्रमहरू सञ्चालन गर्न सफल भएको बताउनुभयो।
कानुन तथा सामाजिक न्यायका सदस्य बसन्ता केसीले महिला लक्षित कार्यक्रममा पुरुषहरूको हस्तक्षेप एक प्रमुख चुनौती भएको बताउँदै, आवश्यक सहयोगको अभावमा कतिपय कार्यक्रमहरू सम्पन्न हुन नसकेको दुखेसो व्यक्त गर्नुभयो।
शान्ति तथा मानव अधिकार सदस्य देवी पोखरेलले हिंसा पीडित महिलाहरूलाई लक्षित गरेर सहयोगी कार्यक्रम तथा निशुल्क स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो।
सदस्य ओवि वलीले थारु समुदायकी महिलाको सांस्कृतिक पहिचानसंग जोडिएका सीपमूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो।
कार्यक्रममा सल्लाहकार नवराज लामिछाने र दुर्गालाल केसीले महिला सांसदहरूले आफ्ना तहबाट महिला अधिकार र सशक्तिकरणका सवालमा संसदमा बुलन्द आवाज उठाउन सुझाव दिनुभयो। लक्षित वर्गका महिलाहरूलाई प्राथमिकतामा राखेर योजना निर्माण गर्नुपर्नेमा पनि उहाँहरूको जोड थियो।
कार्यपालिका सदस्य यमुना परियारले महिला नमुना सांसदहरूले पेश गरेको ३३ बुँदे घोषणापत्र कार्यपालिकाबाट पारित गरिने प्रतिबद्धता व्यक्त गर्दै, जुनसुकै तहका महिलाको सशक्तिकरणका लागि आफू आवाज उठाउन तत्पर रहेको बताउनुभयो।
बैठक महिला नमुना सांसद सभामुख सिमा न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकले आगामी योजनाका लागि मिति तय गर्दै नयाँ संसद बैठक बस्ने निर्णय पनि गरेको छ।
बैठकको सहज सञ्चालन महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो।