
तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयमा कक्षा १ देखि ८ सम्म पठनपाठन हुँदै आएको स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ पहिलो पटक अध्यावधिक गरिने भएको छ।
शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीका अनुसार इतिहास, भूगोल, कला, संस्कृति, भाषा, रहनसहनलगायतका विषय समेटिएको यो पुस्तकलाई थप सुधार गर्न सुझाव संकलन भइरहेको छ।
यसै क्रममा सोमबार पत्रकारहरूसँग सुझाव संकलन गरिएको छ। कार्यक्रममा सहभागी पत्रकारहरूले पौराणिक मेला, सहकारी शिक्षा, स्थानीय सफल व्यक्तित्वका जीवनी, वाक्य संरचनाको स्पष्टता, सांस्कृति विषयमा सम्बन्धित विज्ञहरु सहितकाे सल्लाह अनुसार लेख्नुपर्ने , छपाइको गुणस्तर सुधार गर्न सुझाव दिएका छन्।
नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक एवं पुस्तकका लेखक/सम्पादक महेन्द्र भण्डारीले पुस्तकमा केही सुधार आवश्यक रहेको बताउनुभयाे। भाषा सम्पादक गोकर्ण पौडेलले भाषिक त्रुटि भए सच्याएर लैजाने प्रतिबद्धता व्यक्त गर्नु भयाे । कार्यक्रमको सहजीकरण शिक्षा महाशाखाका अधिकृत मनबहादुर खड्काले गर्नुभएको थियो।

