वर्षायाममा सरसफाईमार्फत सचेतना: नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाद्वारा बजार सफाई



 

वर्षायामसँगै डेंगु लगायतका सरुवा रोगको जोखिम बढ्न थालेपछि नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाले सरसफाई अभियान सञ्चालन गरेको छ।

बिहीबार सम्पन्न उक्त सरसफाई कार्यक्रम विजौरी बजार क्षेत्रमा केन्द्रित थियो। बजारमा जथाभावी फोहर फाल्ने प्रवृत्तिलाई हटाउन र सार्वजनिक स्थल सफा राख्न प्रेरित गर्न सो अभियान सञ्चालन गरिएको हो। अभियानको क्रममा बजार क्षेत्रमा माइकिङ गर्दै स्थानीय व्यवसायी तथा सर्वसाधारणलाई आफैंले आफ्नो पसल र घर वरिपरि सफा राख्न अपिलसमेत गरिएको थियो।

कार्यक्रममा सहभागिता जनाउँदै तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर्षायाम सुरु भएकोले डेंगु लगायतका रोगबाट बच्न विशेष सतर्कता आवश्यक भएको बताउनुभयाे। “पसल र घर वरिपरि पानी जम्न नदिई सरसफाई गर्नुपर्छ,” उहाँले आग्रह गर्नुभयो।

सफाइ कार्यक्रममा नेपाल प्रहरी हेमन्तपुर प्रहरी चौकी, टोल सुधार समिति, मिलिजुली टोल विकास समिति, माल विजौरी क्षेत्रका स्थानीय, व्यवसायी तथा स्वयंसेवकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखाका सचिव मुकेश वलीका अनुसार, बजार क्षेत्रमा अत्यधिक फोहोर देखिएको र वर्षा याम सुरु भइसकेको अवस्थामा रोगको संक्रमण फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सचेतनामूलक सरसफाई अभियान गरिएको हो।

“फोहोरकै कारण रोग लाग्ने सम्भावना उच्च हुन्छ, त्यसैले जनचेतनामूलक प्रयास आवश्यक छ,” वलीले भन्नुभयाे।

संगठित सरसफाई कार्यक्रममार्फत वातावरण स्वच्छ राख्न प्रेरणा दिने उद्देश्यसहित रेडक्रस विजौरी उपशाखाले आगामी दिनमा पनि यस्ता अभियान सञ्चालन गर्दै लैजाने प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्