दाङ उपत्यकासहित धेरै जिल्लामा लगातार वर्षा



दाङ उपत्यकासहित लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै जिल्लामा लगातार वर्षा भइरहेको छ। पछिल्लो तीन घण्टामा दाङको तुलसीपुर, बेलझुण्डी र बागासोती वर्षामापन केन्द्र, बाकेको सिक्टा र बैजापुर वर्षामापन केन्द्र, साथै कपिलवस्तुको भगवानपुर वर्षामापन केन्द्रमा मध्यमदेखि भारी मात्रामा वर्षा रेकर्ड गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद्हरूका अनुसार अहिले मनसुन सक्रिय रहेको छ। त्यसैले दाङलगायत लुम्बिनी प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ भने कर्णाली र गण्डकी प्रदेशका पनि धेरै जिल्लामा लगातार वर्षा भइरहेको छ। पानीका कारण नदी–नाला बढ्ने, बाढी आउने र पहिरोको जोखिम रहने सम्भावना छ।

आज दिउँसो पनि लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, कोशी प्रदेशका एक–दुई स्थानमा पनि ठूलो पानी पर्ने सम्भावना छ। लगातार वर्षाका कारण नदीनाला छेउका बस्तीमा सतर्कता अपनाउन, अनावश्यक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न महाशाखाले सबैलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस्