एमाले दाङको सचिवालय बैठक सम्पन्न, ९ बुँदे निर्णय सार्वजनिक




नेकपा एमाले दाङ जिल्ला सचिवालयको बैठक शनिबार पार्टी कार्यालय घोराहीमा सम्पन्न भएको छ। बैठक जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा तथा पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

बैठकमा केन्द्रिय सदस्यहरू भागवत विश्वासी, कोमल वली, जीवन गौतम, सिता सिग्देल नयौपाने, साजिदा सिद्धिकी लगायतको सहभागिता रहेको थियो।

उपाध्यक्ष मनोहरा बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको बैठकको सहजीकरण सचिव श्याम डागीले गर्नुभएको थियो।

बैठकले संगठन सुदृढीकरण र आगामी गतिविधिलाई लक्षित गर्दै नौ बुँदे निर्णय गरेको छ। निर्णयअनुसार आगामी कार्तिक २० गतेसम्म दाङका सबै पालिका कमिटीहरूको बैठक बस्ने, कार्तिक २२ गते सबै वडामा वडा भेला गर्ने र कार्तिक २५ गते पालिका सभा आयोजना गर्ने तय गरिएको छ।

यस्तै, कार्तिक २७ गते तुलसीपुरमा हुने युवाको लुम्बिनी प्रदेश सभामा आवश्यक समन्वय, सहयोग र सक्रिय सहभागिता जनाउने निर्णय गरिएको छ। साथै, घोराही र तुलसीपुरमा रहेका पार्टी कार्यालय पुनर्निर्माणका लागि जिल्ला अध्यक्षको संयोजकत्वमा पदाधिकारी, क्षेत्रीय संयोजक र आर्थिक विभाग प्रमुखसहितको समिति गठन गरिएको छ।

बैठकले मंसिर ४ गते २ नम्बर, ५ गते १ नम्बर र ६ गते ३ नम्बर क्षेत्रमा क्षेत्रीय समन्वय कमिटीको बैठक गर्ने निर्णय गरेको छ। मंसिर १३ गते दाङका तीनै निर्वाचन क्षेत्रमा क्षेत्रीय समन्वय समितिको भेला गरी विधिसम्मत महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्णय गरिएको छ।

संगठन विस्तारमा सक्रियता बढाउने उद्देश्यले बैठकले पार्टी काममा निष्क्रिय तथा अन्य दलतर्फ गएका कार्यकर्तालाई पुनः नेकपा (एमाले) मा फर्किन आह्वान गरेको छ।

साथै, मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने केन्द्रिय महाधिवेशन सफल बनाउन दाङ जिल्ला कमिटीले आवश्यक पहल र तयारी गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख एवम् सचिवालय सदस्य संगीत बस्यालले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्