लुम्बिनीबाट राष्ट्रियसभामा झाक्री, केसी र घिमिरे बिजयी



लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा कांग्रेस एमाले गठवन्धनका तीन उम्मेदवार बिजय हुनुभएको छ ।

आइतवार भएको मतदानबाट महिला कोटामा एमालेकी गुल्मीकी रामकुमारी झाक्री, अपांग कोटामा नेपाली कांग्रेसका दाङका बासुदेब घिमिरे र अन्य कोटाबाट नेपाली कांग्रेसका उम्मेदवार गुल्मीका चन्द्रबहादुर केसी बिजय हुनुभएको हो ।

निर्वाचनमा बिजयी महिला कोटाबाट रामकुमारी झाक्रीले ६३०३ मतभार प्राप्त गर्नु भएको थियो भने अपांग अल्पसंख्यातर्फ बिजयी बासुदेब घिमिरेले ५३२२ मतभार प्राप्त गर्नुभएको छ । त्यसैगरी अन्य कोटाबाट चन्द्रबहादुर केसीले ५९७७ मतभार प्राप्त गर्दै बिजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले जानकारी दिनुभएको छ ।

निर्वाचनमा पराजित महिला कोटामा नेपाली कम्युनिष्ट पार्टीबाट पाल्पाका दुर्गाकुमारी भण्डारीले १३६२ मतभार, अपांग अल्पसंख्याक कोटामा बाँके निवासी सर्जन बिकले १६०१ मतभार प्राप्त गर्नुभएको थियो ।
अन्यमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का बृहस्पति अधिकारीले १८३२ मतभार प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट महिला कोटामा उम्मेदवार बन्नुभएकी प्युठान निवासी पद्मा पण्डितले १५२ मतभार र अन्यमा उम्मेदवार बन्नुभएका प्युठानकै बोमबहादुर खत्रीले १३३ मतभार प्राप्त गर्नुभएको थियो ।

विहान नौ बजेदेखि दिउँसो ३ बजेसम्म भएको मतदानका क्रममा दुई सय ८६ मतदान भएको थियो । जसमा प्रदेशसभातर्फ ७८ जना र स्थानीय तहतर्फ दुई सय आठ जनाले मतदान गर्नुभएको थियो ।

निर्वाचनमा प्रदेशसभातर्फ पाँच जना र स्थानीय तहतर्फ आठ जना मतदाता उपस्थीत हुनुभएको थिएन ।

 

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्