
दिप्तिशिखा चाैधरी
शिक्षामा समान अवसर सुनिश्चित गर्ने उद्देश्यले समृद्ध समाजले सञ्चालन गरेको छात्रवृत्ति वितरण कार्यक्रमले दाङका विपन्न समुदायका दुई छात्राहरूको जीवनमा नयाँ आशा बोकेको छ।
कार्यक्रमअन्तर्गत बगैँचा महिला समूहकी सदस्य श्रीजना चौधरीकी छोरी लजिमा चौधरी र सरस्वती महिला समूहकी सदस्य बसन्ती चमारकी छोरी कल्पना रैदास लाई छात्रवृत्ति प्रदान गरिएको हो।
दुवै छात्रा हाल कक्षा ९ मा अध्ययनरत छन् र तुलसीपुर क्षेत्रका सरकारी विद्यालयमा अध्ययन गर्दै आएका हुन्। उनीहरू दुबै जनाको पारिवारिक आर्थिक अवस्था कमजोर भए पनि शैक्षिक उन्नतिमा दृढ इच्छाशक्ति देखिएका कारण छात्रवृत्तिका लागि छनोट गरिएको समृद्ध समाजले जनाएको छ।
कार्यक्रममा लजिमा चौधरीलाई छात्रवृत्ति प्रदान गर्नुहुने सहयोगी श्रीमती Patricia Mam र उहाँका छोरा Jason Sir हुनुहुन्छ। उता, कल्पना रैदासलाई छात्रवृत्ति प्रदान गर्नुहुने श्रीमती सबिना प्रधान हुनुहुन्छ, जसले यो सहयोग आफ्नी दिवंगत आमा श्रीमती शान्ति प्रधानको स्मृतिमा गर्नुभएको हो।

प्रत्येक छात्रालाई रु. ३० हजार को दरले छात्रवृत्ति प्रदान गरिएको छ। जम्मा रु. ६० हजार बराबरको यो सहयोग रकम दुवै छात्राहरूका आमालाई विशेष सम्मानका साथ हस्तान्तरण गरिएको हो।
छात्रवृत्ति वितरण कार्यक्रम समृद्ध समाजको अध्यक्ष दिलकुमारी बिकको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। अध्यक्ष बिकले छात्रवृत्ति हस्तान्तरण गर्दै भन्नुभयाे-“हामी शिक्षा नै परिवर्तनको मुख्य आधार हो भन्ने मान्यतामा दृढ छौं। विपन्न परिवारका जेहेनदार विद्यार्थीहरूलाई सहयोग गर्न पाउँदा गर्व लागेको छ।”
कार्यक्रममा समाजकी सचिव, कार्यक्रम व्यवस्थापक प्रमोद केसी, सामुदायिक शिक्षक भीष्म बस्नेत, महिला समूह प्रतिनिधि सुशीला चौधरी र हेमकुमारी चौधरीको पनि उपस्थिति रहेको थियो।

दुवै छात्राहरूले आफ्ना सहयोगदाताप्रति आभार प्रकट गर्दै धन्यवादपत्र लेखेका छन्। लजिमा चौधरीले लेखेकी थिइन्:
“Dear Patricia Mam and Jason Sir,
Thank you so much for supporting my education. I will work hard to make you proud.”
त्यस्तै, कल्पना रैदासले लेखेकी थिइन्:
“Dear Sabina Pradhan Mam,
I am grateful for your kind support. I dedicate my success to the memory of your beloved mother.”
छात्राहरूको आभारले सहयोगीहरूको मन छोएको र आगामी दिनमा अझ प्रेरणा दिने बताइएको छ।
यस महत्वपूर्ण कार्यलाई सफल बनाउन विशेष योगदान दिनुहुने Yogi Kayastha सर, Development Fund Norway र नेपालस्थित प्रतिनिधिहरूलाई आयोजक संस्थाले धन्यवाद ज्ञापन गरेको छ।
समृद्ध समाजका अध्यक्ष दिल कुमारी वि.क का अनुसार,“हामी गुणस्तरीय शिक्षा पहुँचबिहीनसम्म पुर्याउने प्रयत्नमा छौं। यस्ता छात्रवृत्तिहरूले न केवल विद्यार्थीको भविष्य उज्यालो बनाउँछन्, समाजमा आशा र प्रेरणा पनि दिन्छन्।”
शिक्षा क्षेत्रमा दीर्घकालीन परिवर्तन ल्याउने उद्देश्यले समृद्ध समाजले निरन्तर यस्ता सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी दिनमा छात्रवृत्तिको दायरा बढाउने योजनामा रहेको संस्थाले जनाएको छ। बिपन्न, दलित, जनजाति र सीमान्तकृत समुदायका छात्राहरूलाई लक्षित गर्दै संस्थाले आवधिक रूपमा छात्रवृत्तिका लागि आवेदन आह्वान गर्दै आएको छ।
कार्यक्रमको समापनमा समृद्ध समाजले सम्पूर्ण सहयोगी, सहभागी र सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै यस्ता सहकार्यहरू अझ सशक्त ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेेकाे छ ।

