
दंगीशरण गाउँपालिका–५, सलौरा कुरीमा सुनौलो हजार दिनका आमाहरूलाई लक्षित गर्दै पोषण विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
समृद्ध समाजद्वारा गठित सक्रिय समूहको आयोजनामा भएको कार्यक्रममा समूह अध्यक्ष नमुना लामिछानेको अध्यक्षता तथा स्वयमसेविका लिला देवकोटाको सक्रियतामा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा प्रशिक्षक रचना बस्नेतले सहजीकरण गर्दै गर्भवती तथा सुत्केरी महिलाहरूको नियमित स्वास्थ्य जाँच, खोपको तालिका, सन्तुलित पोषणयुक्त थप खानेकुरा, स्वच्छता र सरसफाइको महत्वबारे जानकारी दिनुभएकाे थियाे।
कार्यक्रममा सहभागी महिलाहरूले यस्ता कार्यक्रमले व्यवहारमै सुधार ल्याउने प्रेरणा दिने बताएका थिए।
स्वास्थ्य र पोषणप्रति सचेतना बढाउँदै मातृ तथा शिशु मृत्युदर घटाउने उद्देश्यले गरिएको उक्त अन्तरक्रियात्मक कार्यक्रमलाई स्थानीयस्तरमा सराहना गरिएको छ।

