
भूमि समस्या समाधान आयोग दाङको आयोजनामा दाङका भूमिहीन दलित र सुकुम्बासी समुदायलाई पहिलोपटक औपचारिक रूपमा जग्गाधनी प्रमाण–पत्र वितरण गरिने भएको छ।
आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा आयोजना हुने सो कार्यक्रम २०८२ असार ११ गते (भोलि) बिहान ९ बजे लमही नगरपालिका–३, मजगाउँ कान्छी टोलमा सम्पन्न हुने भुमि समस्या समाधान आयाेग दाङका अध्यक्ष हुकुम बस्नेतले जानकारी दिनुभयाे।
उहाका अनुसार, आयोगको स्थानीयस्तरको तथ्यांक संकलन, प्रमाणीकरण र सिफारिस प्रक्रियाबाट छनोट गरिएका भूमिहीन दलित र सुकुम्बासीहरुलाई यसपटक जग्गा स्वामित्व प्रमाणपत्र वितरण गरिन लागिएको हो।
“भूमिविहीन तथा सुकुम्बासीहरूलाई राज्यले कानुनी पहिचानसहितको जग्गा वितरण गर्नु सामाजिक न्यायको आधार हो,” बस्नेतले बताउनुभयाे।
कार्यक्रममा आयोगका अन्य पदाधिकारी, स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, जग्गा पाउने लाभग्राही परिवार तथा विभिन्न निकायका सरोकारवाला सहभागी हुनेछन्।
भूमि समस्या समाधान आयोगले हाल देशभरिका भूमि समस्याग्रस्त क्षेत्रको पहिचान र समाधानको प्रक्रियालाई तिव्र बनाउँदै आएको छ। दाङमा पहिलोपटक जग्गा स्वामित्व प्रमाणपत्र वितरण गरिन लाग्नु आयोगको कार्यान्वयनतर्फको महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।

