
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित मौका (पूरक) परीक्षा आउँदो असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ ।
यसअघि भदौ २८ र २९ गतेका लागि तोकिएको परीक्षा जेन–जी आन्दोलनका कारण स्थगित भएको थियो । बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले नयाँ तालिका सार्वजनिक गर्दै असोज ७ र ८ गते परीक्षा हुने जानकारी दिएको हो ।
बोर्डका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१) सहित एक वा दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि सानो कोड भएको विषयको परीक्षा हुनेछ । अनिवार्य अङ्ग्रेजी र नेपाली दुवै विषय परीक्षा दिने विद्यार्थीले पहिलो दिन अङ्ग्रेजी र दोस्रो दिन नेपाली विषयमा परीक्षा दिनुपर्ने छ ।
असोज ८ गते दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि ठूलो कोड भएको विषयको परीक्षा हुनेछ । यो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भने हुने छैन ।
परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

