दाङ प्रहरी द्वारा जेन–जी आन्दोलनमा संलग्नको खोजी कार्य तीव्र



दाङ प्रहरीले भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी तीव्र पारेको छ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले खिचिएका तस्बिर, भिडियो र प्रत्यक्षदर्शीको बयानका आधारमा सूची तयार भइरहेको जानकारी दिनुभयो। चोरी भएका सामग्री फिर्ता ल्याउनेलाई तीन पुस्ते विवरण संकलन गरी छाड्ने योजना रहेको पनि उहाँले बताउनुभयो।

प्रहरीले नागरिकलाई प्रमाणसहित उजुरी दिन आग्रह गर्दै व्यवसायी तथा सर्वसाधारणलाई बिलविजकविना कम्प्युटर, ल्यापटप, टिभी आदि खरिद नगर्न चेतावनी दिएको छ। चोरीका सामान बिक्री हुनसक्ने स्थानमा निगरानी कडा गरिएको जनाएको छ।

हालसम्म औपचारिक उजुरी नआएकाले कारबाहीमा कठिनाइ भएको प्रहरीको भनाइ छ। आन्दोलनका क्रममा प्रहरी चौकी, गाडीमा क्षति पुग्नुका साथै तीन प्रहरी घाइते भएका थिए। क्षतिग्रस्त प्रहरी चौकीको पुनःनिर्माण भइरहेको र ट्राफिक प्रहरीले कामकाज सुरु गरिसकेको दाङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्