
दाङमा ब्राउन सुगरसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१० जलौराका २५ वर्षीय निर्मल डाँगी र सोही वडाको बुधौरा चोक बस्ने २५ वर्षीय शरद घर्ती मगर रहेका छन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार उनीहरूको साथबाट ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको हो।
गोप्य सूचनाको आधारमा प्रहरीले घोराही–८ सौंडीस्थित भित्री सडक खण्डमा रा ४ प ५२६३ नम्बरको मोटरसाइकल रोकेर खानतलासी गर्दा उक्त ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ असोज १३ गते सोमवार

