हमासले नेपाली विद्यार्थी विपिन जोशीको मृत्युलाई पुष्टि गर्‍याे



 

हमासले इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ। हमासको सैन्य शाखाले आज सार्वजनिक गरेको विवरणअनुसार विपिनसहित चार जना बन्धकहरूको शव इजरायललाई बुझाउने तयारी भइरहेको बीबीसीले जनाएको छ।

शव बुझाइने अन्य तीन जना इ इलौज, योस्सी शराबी र डानियल पेरेत्स हुन् । हमासले आजै २० जना जीवित बन्धकहरूलाई मुक्त गरेको पनि बताइएको छ। मृत्यु भएका बन्धकहरूको अवशेष संख्या २८ जनासम्म हुनसक्ने अनुमान गरिएको छ।

विपिन जोशी ती १६ नेपाली विद्यार्थीमध्ये एक हुन्, जो सन् २०२३ अक्टोबर ७ मा हमासको किबुज क्षेत्रमाथिको आक्रमणमा परेका थिए। उक्त विद्यार्थीहरू इजरायल सरकारको लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि गएका थिए।

आक्रमणपछि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भएको थियो भने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो। एक महिनापछि विपिन गाजाको अल शिफा अस्पतालमा ३३ सेकेन्डको भिडियोमा अन्तिम पटक देखिएका थिए।

नेपाल सरकारका तर्फबाट विपिनको उद्धारका लागि निरन्तर कूटनीतिक पहल भए पनि सफल हुन सकेन।

विपिनका बुबा महानन्द जोशी र आमा पद्मा जोशीले पटक–पटक सरकारसँग छोराको उद्धारका लागि आग्रह गर्दै आएका थिए। बहिनी पुष्पा जोशीले पनि इजरायली राष्ट्रपति हर्जोगसँग दाइको रिहाइका लागि अपिल गरेकी थिइन्।

तर, लामो प्रतीक्षा र प्रयासपछि आज विपिनको मृत्युको पुष्टि भएको खबरले नेपाल र उनका परिवारलाई गहिरो शोकमा डुबाएको छ।

प्रकाशित मिति : २०८२ असोज २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्