माघ पर्व : थारु समुदायको सामाजिक सद्भाव र सांस्कृतिक पहिचान



दिप्तीशिखा चौधरी


माघ सङ्क्रान्तिबाट सुरु भएर महिनाभरि मनाइने माघ पर्व थारु समुदायको सबैभन्दा ठूलो र महत्वपूर्ण चाड हो। थारुहरूले यस पर्वलाई नयाँ वर्षको सुरुवातका रूपमा मात्रै होइन, सामाजिक सद्भाव, मेलमिलाप, मान–मर्यादा, सेवा र सत्कारको प्रतीकका रूपमा पनि मनाउने गर्दछन्। उसाे त माघ पर्व आउन भन्दा एक महिना अघि देखि नै चामल कुटनउने, पिठाे पिसाउने, तेल पेल्ने, दाउरा, गुइठा संकलन गर्ने जस्ता घरायसी कामहरु सुरु भइसकेकाे हुन्छ ।

केही वर्षअघि यो पर्वलाई कमैया–कम्लरी मुक्ति दिवसका रूपमा समेत लिने गरिन्थ्यो। माघ पर्व थारु समुदायका लागि सामाजिक, सांस्कृतिक र सामुदायिक एकताको पर्व हो।

केही समयअघि माघ पर्वमा विकृति भित्रिँदै गएको भन्दै आलोचना हुने गरेको थियो। तर पछिल्लो समय विभिन्न सांस्कृतिक कार्यक्रम, मेला र महोत्सवका कारण यस पर्वको मौलिकता क्रमशः जगेर्ना हुँदै गएको देखिन्छ।

पहिलो दिन : जिटा मर्ना डिन
पौष महिनाको अन्तिम दिन माघ पर्वको पहिलो दिन हो। यस दिन सुंगुर काटेर मासु खाने परम्परा भएकाले यसलाई थारु भाषामा “जिटा मर्ना डिन” भनिन्छ। गाउँका गरढु¥याहरूले सुंगुर काटेर मासु भागबण्डा गर्छन् भने अन्य सदस्यहरू नदी–खोलामा ‘भिउँरा’ बाध बाधेर माछा मार्ने ठाउँमा  माछा मार्न जान्छन्।


घरमूली महिला (गरढुर्न्या) ढिक्री बनाउन व्यस्त देखिन्छिन्। ढिक्रीका विभिन्न प्रकार भए पनि माघीमा विशेषगरी लठ्ठी आकारको ‘लठ्ठा ढिक्री’ बनाइन्छ। साँझ परेपछि परिवारका सबै सदस्य बैठक कोठा (बह्रि) मा भेला हुन्छन्। घरमूली महिलाले माछा, मासु, ढिक्री सबैलाई समान रूपमा बाँड्छिन् र आफैं पनि सहभागी हुन्छिन्। यसरी खानपिन गर्दै वर्षभरिको थकान बिर्सँदै आपसी भाइचारा र मेलमिलापको भावना व्यक्त गरिन्छ।

जाडोको याम भएकाले वृद्धवृद्धा आगो ताप्दै थारु शास्त्रीय गीत ‘ढुमरु’ गाउन थाल्छन्। युवा पुस्ताले यो गीत गाउन छाडे पनि बुढापाकाहरू भएका घरमा अझै यो परम्परा जीवित छ। थारु लोकसंस्कृतिविद् अशोक थारुका अनुसार ढुमरु गीत माघको यही दिनदेखि गाउन सुरु गरिन्छ।


दोस्रो दिन : नुहाउने र निस्राउ कहर्ना

माघ महिनाको पहिलो दिन अर्थात् पर्वको दोस्रो दिन ‘कुखुरी काँ’सँगै सुरु हुन्छ। एक कुखुरा बोलेपछि गाउँभरिका कुखुरा बास्न थाल्छन्, यही नै थारुहरूको प्राकृतिक घडी हो।


गाउँका सबैजना नजिकैको नदी वा खोलामा नुहाउन जान्छन्। कठ्याङ्ग्रिँदो जाडोमा पनि गीत गाउँदै बालबालिका, युवा र वृद्ध सबै रमाउँदै नुहाउन जाने भएकाले जाडोको अनुभूति हुँदैन। नुहाएर फर्किएपछि ‘निस्राउ कहर्ना’ गरिन्छ। छुट्टाछुट्टै ढकीयामा राखिएको चामल, उर्दको दाल र नुन निकालेर चेलीबेटीलाई दिइन्छ। त्यसपछि मान्यजनलाई ढोगभेट गरिन्छ।


यस दिन ढिक्री, माछा, मासु, घोंघी, खर्या, अनदीको रोटी, विभिन्न तरकारी र जाँडको झोल मुख्य परिकार हुन्छन्। खानपिनपछि उमेरअनुसार समूह बनाएर मघौटा नाच सुरु हुन्छ। नर्तकीहरूले लहंगा, चोल्या, घुम्टो, सटकी र गरगहनाले सजिएर नाच्छन्। मादल, झ्याली र कस्टारको तालमा घरघर डुल्दै नाच्ने र रमाउने परम्परालाई ‘माघ मन्ना’ भनिन्छ।

तेस्रो दिन : माघी डेवानी
माघ महिनाको दोस्रो दिन अर्थात् पर्वको तेस्रो दिनलाई ‘माघी डेवानी’ भनिन्छ। यस दिन गरढु¥याहरू जाँड–रक्सी र तरकारी लिएर गाउँका मुखिया मटावाँको घरमा भेला हुन्छन्। बितेको वर्षको समीक्षा, आगामी योजना र नयाँ कामको थालनीबारे छलफल गरिन्छ। केही समयअघि हराउँदै गएको यो परम्परा पछिल्लो समय फेरि जगेर्ना गर्ने प्रयास भइरहेको छ।

चौथो दिन : जन्हीनक माघ
माघ महिनाको तेस्रो दिन अर्थात् माघी पर्वको अन्तिम दिनलाई ‘जन्हीनक माघ’ भनिन्छ, जसलाई महिलाहरूको माघी पनि भनिन्छ। वर्षभरि काममा व्यस्त रहने थारु महिलाहरू यस दिन पूर्ण रूपमा स्वतन्त्र हुन्छन्। महिलाहरू समूह बनाएर नाच्ने, रमाउने, बोल्ने र हिँडडुल गर्ने स्वतन्त्रता उपभोग गर्छन्। उनीहरूले यस दिनलाई आफ्नो स्वतन्त्रताको प्रतीकका रूपमा लिन्छन्।


यसरी माघ पर्वले थारु समुदायमा आपसी सद्भाव, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई मजबुत बनाउने महत्वपूर्ण भूमिका खेलेको छ।

प्रकाशित मिति : २०८२ पुष ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस्