
घोराही उपमहानगरपालिका–१०, नारायणपुरस्थित सडक मानव आश्रित सेवा घरलाई बिद्यार्थीहरुले सहयोग गरेका छन् । घोराहीस्थित भिक्टोरिया इन्टरनेशनल कलेजमा बिबिए तेस्रो सेमेष्टर अध्ययनरत डायमण्ड ग्रुपका बिद्यार्थीहरुले परियोजना कार्य अन्तर्गत गरेको व्यापारबाट रकम बचत गरी सहयोग गरेका हुन् ।
मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा ५० बढी सडक आश्रित मानवहरुलाई उद्धार गरी राखिएको छ । नेपाली मात्रको मुष्ठिदानले सञ्चालन भैरहेको सेवा घरमा आश्रितलाई सहज होस् भनेर सहयोग गरेको डायमण्ड ग्रुपका संयोजक सजना बिकले बताउनुभयाे।
पढाइका क्रममा गरिएको परियोजना कार्य अन्तर्गत मेला र सडकमा बिभिन्न सामान बेचेर उनीहरुले बचत गरेका थिए । मानवीय भावना र नागरिकको कर्तव्य सम्झेर उक्त बचतबाट सामाजिक सेवा गरेको उनले जानकारी दिनुभयाे । सेवा घरलाई १५ हजार रुपयाँ बराबरको खाद्यान्न, सरसफाई लगाएतका अत्याबश्यक सामानहरु सहयोग गरेको उहाले बताउनुभयाे ।
मानव कल्याण समाजले २०७५ सालदेखि सडकमा अलपत्र मानिसहरुलाई उद्धार गरी आश्रय दिन थालेको हो । देशभर यस्ता ६ वटा सेवा घर छन् । दाङका साथै काठमाण्डौको पशुपति क्षेत्र, भक्तपुरको झौखेल, काभ्रेको धुलिखेल, पनौती र बाराको निजगढमा पनि सेवा घर छन् । जसमा ५ सय बढीले सेवा लिइरहेका छन् । सडकबाट उद्धार भएकामध्ये हालसम्म १ हजार ५ सय बढीलाई परिवारमा पुनिर्मलन गराइएको छ ।

