गरगरुवा–करङ्गा सडकखण्डको गुहारखोला पुल निर्माण अन्तिम चरणमा



शरद शर्मा मजगैया

दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका अन्तर्गत गरगरुवा–करंगा सडक खण्डमा निर्माणाधीन गुहारखोला पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। २०७८ सालबाट सुरु गरिएको उक्त पुल अब २०८३ सालको जेठ महिनाभित्र सम्पन्न हुने निर्माण पक्षले जनाएको छ।

सडक विभाग अन्तर्गत पुल महाशाखाको समन्वयमा शर्मा–सगुन जेभी कम्पनीद्वारा निर्माण भइरहेको उक्त पुल २१० मिटर लम्बाइ र ११ मिटर चौडाइको रहेको छ। पुल निर्माणका लागि कुल २१ करोड २२ लाख ७९ हजार १०० रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

निर्माण कार्य २०८० सालमै सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि विभिन्न प्राविधिक कारण, मौसमको प्रतिकूलता तथा संरचनागत जटिलताका कारण काम केही ढिलाइ भएको बताइएको छ। हाल भने पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ भने अन्तिम फिनिसिङ र पहुँच सडक व्यवस्थापनको काम तीव्र गतिमा अगाडि बढिरहेको निर्माण कम्पनीले जनाएको छ।

पुल सञ्चालनमा आएपछि गरगरुवा, करंगा लगायत आसपासका क्षेत्रका नागरिकलाई वर्षायाममा हुने आवतजावतको समस्या हट्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले पुलले क्षेत्रको यातायात, व्यापार, शिक्षा तथा समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८३ जेष्ठ २ गते शनिवार
प्रतिक्रिया दिनुहोस्