
तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत कृषि र पशुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै उत्पादन वृद्धि, आधुनिकीकरण र किसानको आयआर्जन बढाउने लक्ष्यसहित साढे ६ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।
कृषि विकासतर्फ ३ करोड र पशु सेवातर्फ २ करोड रुपैयाँ प्रत्यक्ष बजेट छुट्याइएको छ। घरबारी बगैंचा, उन्नत बीउ वितरण, प्राङ्गारिक खेती, प्लास्टिक टनेल, सिँचाइ विस्तार, कृषि बीमा, कृषि यन्त्रमा ५० प्रतिशत अनुदान तथा समावेशी कृषि कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।
पशुपालनतर्फ निःशुल्क खोप, रेबिज नियन्त्रण, पोषण किट, घाँसको बीउमा अनुदान, पशु बीमा, साइलेज निर्माणमा सहयोग तथा किसान–प्राविधिक ‘कफी मिट’ कार्यक्रम सञ्चालन गरिनेछ।
नगर प्रमुख टीकाराम खड्काले किसानको लागत घटाउने, आधुनिक प्रविधि विस्तार गर्ने, कृषि बीमाको पहुँच बढाउने र उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने उद्देश्यका साथ कार्यक्रम ल्याइएको बताउनुभयो। सुरक्षित कृषि उत्पादनका लागि विषादी परीक्षण प्रयोगशाला निर्माणमा ३५ लाख रुपैयाँ पनि विनियोजन गरिएको छ।

