
दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका १, सुण्डबरीमा शुक्रबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिँदा घोराही उपमहानगरपालिका १७, चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसीको मृत्यु भएको हो।
केसी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो।
प्रहरीका अनुसार शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लुम्बिनी प्रदेश ०३–००१ प ८५९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका केसीलाई उपचारका लागि लमही अस्पताल पुर्याइएकोमा साँझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

