
दाङमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१४, मिलनचोकस्थित रोडमा संकास्पद अवस्थामा हिँडिरहेका २३ वर्षीय विशाल बुढा मगर र घोराही उपमहानगरपालिका-१३, आनन्दनगर टोल बस्ने अन्दाजी ५७ वर्षीया नितु आचार्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घोराही उपमहानगरपालिकाका दुई फरक स्थानबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको हो ।
विशाललाई वडा प्रहरी कार्यालय, घोराहीबाट खटिएको टोलीले शंका लागेर खानतलासी गर्दा उनको पाइन्टको दाहिने खल्तीमा रातो प्लाष्टिकको साना ३ वटा पुडियामा धागोले बाँधेर राखिएको लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको हो ।
यस्तै आचार्यलाई घरमा ट्रामाडोल बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोलीले खानतलासी गर्दा उनको भान्सा कोठामा लुकाइ राखेको २ पत्ता (२० क्याप्सुल) ट्रामाडोल फेला पारेको प्रहरीले जनाएको छ ।
दुबै घटनामा संलग्न पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ ।

